साझा सहमति जुटाएर प्रदेश १ को नामकरण गर्न आग्रह
विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।
उनीहरूले विभिन्न पक्षको माग र विकल्पहरूमा साझा सहमति जुटाउन वृहत् गोलमेच छलफल गर्न समेत प्रदेश सरकार समक्ष माग गरेका छन् । आज मङ्गलवार संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले विवाद र द्वन्द्वरहित ढङ्गले साझा सहमतिको आधारमा यथाशीघ्र प्रदेश नामकरण गर्न प्रदेश सभा, प्रदेश सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् ।
छलफल र संवादको माध्यमबाट प्रदेश नामकरणको विषय टुङ्ग्याउन आग्रह गर्दै नामकरणको लागि आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न समेत उनीहरूको आग्रह छ । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले प्रदेश नामकरण पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् ।
उनले प्रदेश १ मा भूगोलभन्दा पहिचानको सभ्यता र इतिहास लामो भएकाले यसैका आधारमा प्रदेश नामकरण गर्नुपर्ने सुझाव दिए । प्रदेशसभामा पहिचान पक्षधर सांसदको सङ्ख्या बढी भएकाले पहिचानबारे साझा धारणा बनाउन सक्नुपर्नेमा उनको जोड छ । श्रेष्ठले प्रदेश १ को नाम किरात प्रदेश राख्दा उचित हुने दाबी गरे ।
सङ्घीय लिम्बुवान मञ्चका झापा अध्यक्ष नगेन्द्र राईले प्रदेश १ लाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्नेमा जोड दिए । उनले पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम लिम्बुवान हुनुपर्ने माग राखे । उनले पहिचानको आधारमा राखिने नामले विखण्डन ल्याउँछ भन्ने तर्क गलत भएको दाबी गरे । लिम्बुवान राज्यका लागि निरन्तर आन्दोलन र सङ्घर्ष जारी रहेकाले लिम्बुवान प्रदेशको अडानबाट पछि हट्न सक्ने अवस्था नरहेको बताए ।
कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले कोच समुदायको इतिहास र सभ्यता नमेटिने गरी प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने बताए । उनले झापा, मोरङ र सुनसरीमा मुख्य बसोबासोकी रुपमा रहेको राजवंशी, ताजपरिया, गनगाईलगायतका जाति समुदायको पहिचानलाई सुरक्षित राख्न पनि कोचिला प्रदेशको विकल्प नभएको तर्क गरे ।
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व जिल्ला अध्यक्ष परशुराम मगरले प्रदेश १ लाई किराँत– लिम्बुवान नामकरण गर्दा उचित हुने धारणा राखे । उनले पहिचान र साझा सहमतिको आधारमा नामकरण गर्नुको विकल्प नभएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेलले प्रदेशलाई विवादमुक्त हुने गरी भूगोलको आधारमा नामकरण गर्नुपर्ने सुझाव दिए ।
उनले सगरमाथा, कञ्चन्जंघा, कोसीलगायत भूगोल प्रदेशको साझा पहिचान भएकाले यसैका आधारमा नामकरण गर्न सुझाए । उक्त पार्टीका जिल्ला सचिव प्रकाश पाठकले पनि जातीय पहिचानमा साझा सहमति जुटाउन नसके भूगोलको पहिचानमा साझा सहमति जुटाएर प्रदेशको नामकरणको विवाद टुङ्ग्याउन आग्रह गरे । कार्यक्रमका सहभागीले प्रदेशको नामसँगै संविधानअनुसार स्वायत्त क्षेत्र, विशेष क्षेत्र समेत तोकेर अघि बढ्नुपर्ने धारणा राखे ।