२०८३ असार १० गते , बुधबार

नेपालको रक्सी बिहार तस्करी, ट्याक्टरसहित १५० कार्टुन रक्सी बरामद

sajilo news
झापा
२०७९ श्रावण ९ गते , सोमबार
नेपालको रक्सी बिहार तस्करी, ट्याक्टरसहित १५० कार्टुन रक्सी बरामद

तस्करी गरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको मदिरा मोरङ प्रहरीले बरामद गरेको छ । ट्याक्टरमा लोड गरेर सीमावर्ती नाका हुँदै भारतको जोगवनीतिर लैजाँदै गरेको मदिरा मोरङको जहँदा गाउँपालिका-१ बाट आइतबार राति १० बजेतिर प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध मदिरा ओसारपसारमा प्रयोग गरिएको को १ त ५९१३ नम्बरको ट्याक्टरलाई पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडेर चालक भने फरार भएको कार्कीले बताए । चालकको खोजी भइरहेको उनको भनाइ छ ।

उनका अनुसार दिलवाले ब्रान्डको एक सय ५० कार्टुन अवैध मदिरा बरामद गरिएको छ । बरामद मदिरा एक लाख ३५ हजार मूल्य बराबरको रहेको कार्कीले बताए । मदिरा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए । भारतको बिहारमा मदिराको ओसारपसार, बिक्री र सेवनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । तर विभिन्न नाकाको प्रयोग गर्दै नेपालबाट तस्करी गरेर भारत लैजाने गरिएको छ । दुई देशीय सुरक्षा बैठकमा भारतीय सुरक्षाकर्मीले मदिराको अवैध ओसारपसार रोकिदिन नेपाली सुरक्षाकर्मीलाई आग्रह गर्ने गरेका छन् ।

भारतबाट नेपालतिर हुने लागू औषधको ओसारपसार नियन्त्रणमा सहयोग गर्न नेपाल प्रहरीले आग्रह गर्दा भारतीय प्रहरीले मदिराको मुद्दा उठाउने गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले नेपालबाट भारततिर भइरहेको मदिराको तस्करी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ’नेपाल(भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छलेर मदिरा भारत कटाउने गरिएको पाइयो,’ कोइरालाले भने, ’नियन्त्रणका लागि विशेष टोली परिचालन गरेर कडाइ गर्न थालिएको छ ।’

सम्बन्धित समाचार