२०८३ असार १० गते , बुधबार

झापामा पनि गाडीमाथि हाँगा बज्रियो

sajilo news
झापा
२०७९ श्रावण ९ गते , सोमबार
झापामा पनि गाडीमाथि हाँगा बज्रियो

तीन जनाको ज्यान जाने गरी भक्तपुरको सल्लाघारीमा गुडिरहेको मिनिबसमाथि अचानक रुख बज्रिएकोजस्तो घटना बिर्तामोडमा पनि भएको छ ।

बिर्तामोडस्थित मातृ भाग्य रेखा ग्यारेजनजिक रोकिराखेको को २ च ४८७ नं को क्यारियरमाथि रुखको हाँगा भाँच्चिएर झरेको हो । आफू उभिएको ठाउँभन्दा सय मिटर पश्चिम सो घटना भएको प्रत्यक्षदर्शी रोम घिमिरेले बताए । ‘ म बाटोमा यात्रामा थिएँ । पश्चिमतर्फ नै जाँदै थिएँ । हावा पनि थिएन । अत्यन्त नर्मल अवस्थामा रुखको हाँगा खस्यो । गाडीको स्ट्रिङमा ड्राइभर ढोका खोलेर बसिरहेको थियो ’उनले भने,‘ हाँगा गाडीको देब्रेपट्टि खस्यो । त्यो ड्राइभरको दिन बलियो रहेछ । अनि हाम्रो पनि ।’सो घटनामा क्यारियरमा सामान्य क्षति पुगे पनि चालकलाई केही नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए ।

बिर्तामोड– खुदुनाबारी हुँदै दानावारि जाने सडक खण्डको ज्यामुद्वारमा दुई वटा सखुवाको रुख लड्न आँटेको भन्दै स्थानीय खगेन्द्र लिङ्देनले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोँगा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा तीन जनाको मृत्यु भएको हो।

आइतबार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमल विनायक जाँदै गरेको बा२ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार