झापामा सिटी रिक्सा र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
झापामा सिटी रिक्सा र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । जिल्लाको कमल गाउँपालिकाका- ६ गुवाबारी स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कमल- ६ निवासी २४ वर्षीय रोशन कोइराला, सोही मोटरसाइकल पछाडि सवार कमल- ४ निवासी १९ वर्षीय रेवत सुबेदी, कमल- ७ निवासी २१ वर्षीय भविन मगर र सिटी सफारीमा सवार कमल- ५ निवासी ६५ वर्षीया सुकमाया माझी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
घाइते भएका मोटरसाइकल चालक कोइरालाको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको उनले बताए । घाइते मध्ये सुबेदीको न्युरो अस्पताल विराटनगर, मगरको बिएण्डसी अस्पताल र माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय दमकले सिटी चालक कमल- ६ निवासी ५२ वर्षीय दिलमान माझीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।