भद्रपुरमा मनाइयो बिपी कोइरालाको ४१ औं स्मृति दिवस
भद्रपुर । नेपाली काँग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस भद्रपुरमा मनाइएको छ ।
नेपाली काँग्रेस नगर समितिले झापाको सदरमुकाम भद्रपुर- १० स्थित बिपी चोकमा जननेता कोइरालाको पूर्णकदको सालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाइएका हुन ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्तकै कारण मुलुकले गणतन्त्र स्थापना गर्न सफल भएको बताए । बिपी दूरदर्शी डाइनामिक नेता भएका उनको भनाई छ ।
बर्तमान सरकारले सबै नेपालीलाई नागरिकता दिलाउने उद्देश्यले नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउन लागेको भन्दै नयाँ विधेयक पारित भए पश्चात् सबै नेपालीले सहजै रुपै नागरिकता पाउने उनले बताए ।
विधेयक पारित नभए मुलुकमा अर्के समस्या फस्ने बताउँदै उनले भने, विधेयक पारित गरेरै छाड्नु पर्ने पर्छ, अनि मात्र नागरिकता सम्बन्धी सबै समस्या समाधान हुन्छ । कार्यक्रममा नेपाली काँग्रेस झापा सभापति देउकुमार थेबे, महिला नेतृ गोमा भट्टराई लगायतले बोल्दै बिपीले प्रतिपादन गरेको समाजवादको सिद्धान्त बमोजिम नेपाली काँग्रेसको नेतृत्वमा देशमा अहिले सम्मका सबै परिवर्तन हुँदै गणतन्त्र सम्म आएको बताएका छन् ।
नेपाली काँग्रेस भद्रपुर नगर सभापति राम कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत बिपी प्रतिष्ठान चन्द्रगढीका कार्यवाहक अध्यक्ष पुष्कल भट्टराई र सञ्चालन वडा सभापति विष्णु काफ्लेले गरेका थिए ।
कार्यक्रममा प्रदेश मन्त्री ओमप्रकाश सरावगी, पार्टी महाधिवेशन प्रतिनिधिहरू, महासमिति प्रतिनिधि लगायत जिल्ला स्थित नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो । सोही अवसरमा बिपीको शाालिकलाई पुनः निर्माणसँगै रंगरोगन गर्ने समेत निर्णय गरिएको थियो ।