पूर्वी नाकामा हात्ती आतंक नरोकिएपछि पाँच दलले बुझाए नगरपालिकालाई ज्ञापनपत्र
झापा । झापाको मेचीनगर क्षेत्रमा दिनहुँ जसो भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीले दुःख दिइरहेको छ । हात्तीको आतंक रोकथाम तथा नियन्त्रणको माग गर्दै स्थानीय पाँच राजनीतिक दलले बिहीबार मेचीनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली काँग्रेसका नगर सभापति सवेश कुमार पनेरु, नेकपा (माओवादी केन्द्र) का नगर सहइञ्चार्ज प्रकाश खडका, जसपाका क्षेत्रीय सचिव विमलदेव काफले राप्रपाका प्रदेश सदस्य रमेश दाहाल र नेकपा (समाजवादी) का नगर सचिव हरिप्रसाद तिम्सिनाले हस्ताक्षर गरेको सो ज्ञापनपत्र नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई बुझाएका हुन् ।
मेचीनगरका १५ वटा वडामध्ये १, २, ३, ४, ५, ९, ११ र १२ वडाहरू हात्ती प्रभावित क्षेत्र हो । भारतबाट सयौँको सङ्ख्यामा आउने हुलका हुल हात्तीका कारण साबिक बाहुण्डाँगी गाविस क्षेत्र अत्यन्तै पीडित र आक्रान्त बनेको थियो ।
यही परिपेक्ष्यमा मध्यनजर गरी विश्व बैङ्कको लगानीमा मेचीनगरको १ पाटापुर देखि मेचीनगर ६ स्थित काँकडभिट्टासम्मको १८ किलोमिटर लम्बाइमा सौर्य तारबारको निर्माणले भारतबाट आउने हन्जा हात्ती नियन्त्रण भएपछि यहाँका स्थानीय बासिन्दाहरूले सुखद अनुभूति गरेका थिए ।
सौर्य तारबार हुँदाहुँदै समेत केही दिन देखि पुनः हात्तीको बथान प्रवेश गरी बालीनाली र घर टहराहरू भत्काउन थालेपछि स्थानीय चिन्तित बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ‘वि. सं. १९५० सालको सेरोफेरोदेखि मानव बस्तीको रुपमा रहेको बाहुण्डाँगी क्षेत्रलाई विगतमा यो हात्ती कोरिडोर क्षेत्र थियो भन्ने कपोकल्पित, निराधार र केही निजी स्वार्थमा खेल्न रमाउने असामाजिक तत्त्वहरूको प्रायोजनले बाहुण्डाँगी बसोबासको भाष्य निर्माण गरी प्रचारबाजी गर्ने दुष्प्रयास विगत केही दिनहरूबाट देखि रहेका छौँ । भारत तर्फबाट आउने हात्तीहरू सिलिगुडीस्थित महानन्द वन्यजन्तु आरक्षण केन्द्रका हात्तीहरू हुन ।
महानन्द वन्यजन्तु आरक्षण केन्द्रले आफ्नो आरक्षण क्षेत्रको परिधि र सीमालाई व्यवस्थित गर्ने नसकेको कारण त्यहाँका हात्तीहरू आहाराको खोजीमा निस्केर मानव बस्ती तर्फ आउने गरेकाले हाम्रो लागि ठुलो चुनौती र समस्या बन्न पुग्यो ।
जंगली हात्तीलाई कोरिडोर निर्माण गरेर नेपाल भित्राउँदा हामीले भोग्नुपर्ने क्षति र विकराल अवस्थालाई मध्यनजर गरी नगरपालिकाको नीति तथा कार्यक्रमबाट कोरिडोर निर्माणको कुरालाई हटाई सौर्य तारबारको मर्मत सम्भार, दिगो संरक्षण र स्थायी तटबन्धको उपायहरू अवलम्बन गर्न जोडदार माग गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ ।
साथै विगत केही वर्ष यता यस मेचीनगर क्षेत्रको नदजन्य पदार्थ ढुङ्गा गिटी, बालुवाको अनुचित दोहनले किसानहरूको कुलो पैनीहरूमा पानी सञ्चालन गर्न नसकिने, नदी कटानको समस्या बढ्दै जाने र पानीको श्रोत गहिरिने वा सुक्ने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन् । त्यसैले नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गर्न अनुमति दिने यान्त्रिक उपकरणको बारेमा पुनर्विचार गरी ठेक्का लगाउन नगरपालिकाको ध्यानाकर्षण गराएको समाजवादीका नगर सचिव तिम्सिनाले जानकारी दिए ।