२०८३ असार १० गते , बुधबार

धुलाबारीको बिजुली अफिस घेराउ

sajilo news
झापा
२०७९ श्रावण ३ गते , मंगलबार
धुलाबारीको बिजुली अफिस घेराउ

धुलाबारी । नेकपा एमालेका सयौँ कार्यकर्ताले मंगलवार धुलाबारीस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत् आपूर्ति नियमित गर्न माग गरेका छन् ।

नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरूको नेतृत्व गर्दै प्राधिकरणको धुलाबारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए । माग पत्रमा छिनछिनमा विद्युत् आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

केही सातादेखि अत्यधिक गर्मी बढेको बेला विद्युत् आपूर्ति भने पटक पटक ठप्प हुने गरेको एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले प्राधिकरण अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै बताए ।

प्राधिकरणले जनगुनासो आउँदा समेत बेवास्ता गरेको र विद्युत् आपूर्ति नियमित गर्नेतर्फ कुनै चासो नदेखाएपछि बाध्य भएर उपभोक्ताले प्राधिकरण घेराउ गर्नु परेको पोखरेलको भनाई छ ।

एमाले कार्यकर्ताको भीडले कार्यालय घेरेपछि जवाफ दिन आएका प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिलकुमार महतोले आगामी २ दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले गर्मी याममा सिँचाई, पङ्खा, फ्रिज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको समस्या सुनाए । कतिपय स्थानमा विद्युतका पोल लडेको र ट्रान्सफर्मर पड्किएको कारण विद्युत् आपूर्तिमा गडबडी भएको स्वीकार गरे ।

प्रतिबद्धता अनुरूप दुई दिनभित्र विद्युत् आपूर्ति नियमित हुन नसकेमा नेकपा एमालेले प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिए । सो अवसरमा प्रदेश संसद् श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं। १० का वडाध्यक्ष नारायण खनाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार