दुर्गा प्रसाईँको पहलमा दुबईमा अलपत्र युवतीको शव ल्याइयो
खाडीमा भएका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईँको पहलमा मंगलबार एक युवतीको शव नेपाल ल्याइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव मंगलबार दुबईबाट नेपाल ल्याइएको हो बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईँको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ ।
रानाका आफन्त चेतन गुरुङले शव बुझ्दै आफूहरूले खर्च र कानुनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए । ‘१० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईँले दुबईमा मृत्यु भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग¥यौँ’ गुरुङले पत्रकारहरूसँग भने ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरेँ । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एक जना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’
प्रसाईँले अर्को हप्ता चार वटा शव ल्याएर आफन्तलाई बुझाउने बताए । ‘सरकारले स्वदेशमै रोजगारी सृजना गरेर युवाहरूको वैदेशिक गमन रोक्न त सकेन नै, पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको शव परिवारलाई दिन पनि सकेन’ प्रसाईँले भने ‘मानवीय हिसाबले मैले ती परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ ।’
दुई साताअघि दुबईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईँले आफन्तले लैजान नसकेका नेपालीका शव आफूले लगिदिने प्रतिबद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शव नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् ।