अराजक शैलीमा बिर्तामोडको नगर अस्पतालमा तालाबन्दी, के हेर्दैछ प्रशासन ?
एउटा अराजक समूहले बिर्तामोडको नगर अस्पतालमा तालाबन्दी गरेको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा सयभन्दा बढीको सङ्ख्यामा ब्यानर र प्लेकार्डसहित नारा जुलुस गर्दै आएको समूहले अराजक शैलीमा नगर अस्पतालमा तालाबन्दी गरेको हो । अस्पतालमा रहेका बिरामीहरूलाई बाहिर निकाली स्वास्थ्यकर्मीहरूलाई हप्काई दप्काई होहल्ला गर्दै त्यस समूहले अस्पतालमा तालाबन्दी गरेको अस्पताल प्रशासनले जनाएको छ ।
‘अस्पतालमा १० जना बिरामीहरू थिए । हामीले ६ जना बिरामीलाई हेरिसकेका थियौँ ,चार जना बाँकी नै थिए’अस्पतालका चिकित्सक डा। फरहान सिद्धिकीले भने,‘बिरामीहरूलाई बाहिर निकालेर उनीहरूले ताला लगाइदिए ।’ स्वास्थ्यकर्मीहरूलाई उनीहरूले हप्काएको सिद्धिकीले गुनासो गरे । ठोस मागबिना र बिना नेतृत्व आन्दोलनमा उत्रिएको त्यस समूहमा अधिकांश बिएण्डसी हस्पिटलका कर्मचारीहरू रहेका थिए । आधाभन्दा बढी व्यक्ति बिएण्डसी हस्पिटलका कर्मचारी भएको डा. सिद्धिकीले बताए । ‘मदिरा खाएर आएका केही व्यक्तिले अस्पतालमा उद्दण्ड नै मच्चाए’एक स्वास्थ्यकर्मीले भने । उनीहरूले प्रहरीलाई समेत नटेरी बिर्तामोड ३ मा रहेको त्यस नगर अस्पतालमा दुई वटा ताला लगाएका थिए ।

बिएण्डसी हस्पिटलले साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ । तर, नगर अस्पतालमा बिमा कार्यक्रम चालू नै रहेको छ । निजी अस्पतालहरूले बिमा कार्यक्रम बन्द गरिसकेको अवस्थामा सामुदायिक नगर अस्पतालमा सञ्चालनमा रहेको बिमा कार्यक्रमलाई चल्न नदिने उद्देश्यले निजी अस्पताल सञ्चालकले तालाबन्दी गर्न लगाएको डा। सिद्धिकीले बताए । प्रदर्शनकारीले सामुदायिक अस्पतालविरुद्ध तीव्र नारा जुलुस गरेको उनले जानकारी दिए । नारा जुलुस गर्दै प्रदर्शनकारीहरू नगर अस्पतालतर्फ अगाडि बढिरहेको जानकारी पाएपछि प्रहरीसँग सहयोग मागिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजीव विष्टले बताए । उनले निजी अस्पताल सञ्चालकहरूले नगर अस्पतालमा तालाबन्दी गर्नु उचित नभएको प्रतिक्रिया दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी र नगर प्रहरी परिचालित हुँदा समेत अटेर गरी उनीहरूले तालाबन्दी गरेका थिए । प्रदर्शनकारीले ताला लगाइसकेपछि पछि प्रहरीले ताला फुटाएको थियो । बिर्ता बजारबाट प्रदर्शन गर्दै बिर्तामोडतर्फ जान लागेका प्रदर्शनकारीहरू फर्केर अस्पतालमा तालाबन्दी गरेको र पछि आफूहरूले ताला फुटाइदिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । प्रदर्शनकारीहरूले दिउँसो २.४० देखि करिब ३ बजेसम्म अस्पतालमा होहल्ला गरेको जनाइएको छ ।
