२०८३ असार १० गते , बुधबार

इलाका प्रहरी कार्यालय कुमरखोदमा दिनभर तनाव

sajilo news
झापा
२०७९ श्रावण १ गते , आईतबार
इलाका प्रहरी कार्यालय कुमरखोदमा दिनभर तनाव

इलाका प्रहरी कार्यालय कुमरखोद दिनभर तनावपूर्ण रह्यो । बाउन्स चेक दिने बैङ्किङ कसुरका व्यक्तिलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय दमकबाट खटिएका सादा पोसाकका प्रहरीले एकाबिहानै ४ बजे झापा गाउँपालिका ३ बस्ने अशोक राईको घरमा घेरा हालेका थिए । पाँच जना व्यक्तिले घेरा हालेता पनि त्यहाँ प्रहरी भने ३ जना मात्र रहेका थिए भने अर्का दुई जनामध्ये एक जना कार ड्राइभर र एक जना रकम पाउने व्यक्ति थिए ।
एकाबिहानै अचानक नौलो मान्छेहरूले घर घेरा हालेपछि घरभित्र रहेका परिवारमा खैलाबैला मच्चियो । होहल्ला भएपछि स्थानीयवासी राईको घरमा जम्मा भए । प्रहरीले गुण्डागर्दी शैलीमा परिवारका मान्छेलाई दुर्व्यवहार गरेपछि स्थानीयहरू जाइलागेका थिए । त्यस क्रममा प्रहरी र स्थानीयवासी झडप भएको थियो । झडपका क्रममा रकम पाउने दुर्गा पौडेलका छोरा विशाल पौडेल घाइते भएका छन् । घाइते विशाल पौडेल र गाडी चालक जसोतसो गाडी लिएर भाग्न सफल भए । बाँकी तीन जना सादा पोसाकका प्रहरीलाई गाउँलेले आफ्नो नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा रहेका सई केशव मगर , कृष्ण कार्की र गजेन्द्र रायमाझीलाई पछि कुमरखोद इलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो ।

इलाका प्रहरी कार्यालयमा ल्याएपछि झन् वातावरण तनावपूर्ण बनेको थियो । सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षाका लागि सशस्त्र प्रहरी बल र जिल्लाबाट इन्स्पेक्टरसहितको प्रहरी टोली झिकाइएको थियो । बैंकिङ्ग कसुरको मुद्दामा अदालतबाट पक्राउ पुर्जी भएता पनि पक्रिने शैली गलत भएको स्थानीयको भनाइ छ । त्यसपछि बैङ्किङ कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी भएता पनि अशोक राईलाई पक्राउ नगरी आफै अदालतमा उपस्थित हुनु भनी सई केशव मगरले अनुरोध गरेका थिए । छलफलमा जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार