२०८३ असार १० गते , बुधबार

देशभर बढ्यो गर्मी, मनसुन सक्रिय हुन अझै तीन–चार दिन लाग्छ

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
देशभर बढ्यो गर्मी, मनसुन सक्रिय हुन अझै तीन–चार दिन लाग्छ

केही दिनयता ‘मनसुन ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको चापीय रेखा औसतभन्दा बढी दक्षिण (भारत) सरेका कारण मनसुन ब्रेक भएको छ ।

‘त्यही भएर देशभरको तापक्रम बढेको छ, पहाडी क्षेत्रबाहेकका ठाउँमा वर्षा हुन सकेको छैन,’ महाशाखाकी मौसमविद् सविना शाक्यले भनिन्, ‘अझै तीन–चार दिन मनसुन सक्रिय हुने छाँट छैन ।’

जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका अनुसार शुक्रबार मुलुकका ३२ वटा केन्द्रको तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म रेकर्ड भएको थियो । सबैभन्दा बढी नवलपुरको दुम्कौलीमा ४० डिग्री रेकर्ड भएको थियो ।

९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री रेकर्ड भएको थियो भने ११ वटा केन्द्रमा २५ देखि ३० र ३ वटा केन्द्रमा २० देखि २५ डिग्री रेकर्ड भएको थियो । शुक्रबार धनगढीमा ४८, नेपालगन्जमा ३७.८ र विराटनगरमा ३६.२ डिग्री रेकर्ड भएको थियो । हावापानी विज्ञान महाशाखाले देशभरका ५६ वटा केन्द्रको अधिकतम र न्यूनतम तापक्रम ९२४ घण्टाको० रेकर्ड गर्ने गरेको छ ।

शाक्यका अनुसार काठमाडौँमा एक साताअघिदेखि नै तापक्रम उकालो लागिरहेको छ । मनसुन ब्रेक भएसँगै तापक्रम बढिरहेको हो । गत आइतबारदेखि काठमाडौँको तापक्रम बढिरहेको देखिन्छ ।

गत आइतबार २९.७, सोमबार, ३१, मङ्गलवार ३०, बुधवार ३०.८, बिहीबार ३०.५ र शुक्रबार ३१.२ डिग्री रेकर्ड भएको छ । शनिवार पनि मुलुकका धेरै भागमा तापक्रम बढेको छ । मुलुकभरका केन्द्रको शनिवार रेकर्ड भएको तापक्रम पौने ६ बजे अपडेट हुन्छ । मौसमविद् शाक्यका अनुसार मनसुनी चापीय रेखा भारतको कोलकता–दिल्लीको रेखा (लाइन) मा हुनुपर्नेमा अझै दक्षिण सरेको छ । ‘मनसुनी चापीय रेखा उत्तरतिर सरे (नेपाल नजिक) मनसुन सक्रिय हुन्छ,’ शाक्यले भनिन्, ‘त्यो लाइन आइतबारदेखि उत्तरतिर सर्ने देखिन्छ । त्यो भयो भने मनसुन सक्रिय हुनेछ ।’

सम्बन्धित समाचार