२०८३ असार १० गते , बुधबार

जनप्रतिनिधिमा निर्वाचित झापाका चार जना पूर्व पत्रकारलाई सम्मानसहित बिदाइ

sajilo news
झापा
२०७९ असार ३२ गते , शनिबार
जनप्रतिनिधिमा निर्वाचित झापाका चार जना पूर्व पत्रकारलाई सम्मानसहित बिदाइ

नेपाल पत्रकार महासंघ झापा शाखाले विभिन्न पालिकाको जनप्रतिनिधिमा निर्वाचित चार जना पूर्व पत्रकारलाई सम्मान गरेको छ ।शनिवार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले पूर्व पत्रकार जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।

पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य रहेका अनिल वाग्ले तथा साधारण सदस्यहरू अग्निप्रसाद कोइराला, सुशन राई र उमेश राउतलाई सम्मान पत्र, खादा र माला पहिराएर सम्मान गरिएको हो । वाग्ले बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्ष, कोइराला कमल गाउँपालिका वडा नं। ३ को वडाध्यक्ष, राई माङ्सेबुङ गाउँपालिका इलामको कार्यपालिका सदस्य र राउत बिर्तामोड वडा नं। ४ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।

महासंघ झापाले पत्रकारिता क्षेत्रका हालसम्म पुर्‍याएको योगदानको कदरसहित सम्मान र जनप्रतिनिधिको रुपमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । महासंघले  सम्मानसहित उनीहरूलाई सक्रिय पत्रकारिताबाट बिदाइ समेत गरेको छ ।

महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए भने सम्मान पत्रको वाचन सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व पत्रकार जनप्रतिनिधिहरूले सञ्चारमैत्री पालिका र वडा बनाउँदै महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख अतिथि बिर्तामोडका उपप्रमुख सङ्ग्रौलाले प्रश्न गर्ने पत्रकारको भूमिकाबाट जवाफ दिने जनप्रतिनिधिको भूमिकामा निर्वाचित हुने चारै जनालाई जनताप्रति जिम्मेवार बन्न सुझाव दिएका छन् । सङ्ग्रौलाले जनप्रतिनिधिको जीवनशैली सादगी, कार्यशैली पारदर्शी र घुस नखाने हुनुपर्नेमा जोड दिए । उनले जनताका साना–साना समस्यालाई पनि उत्तिकै प्राथमिकता दिएर जनप्रतिनिधिले स्थानीय सरकार हरेक नागरिकको अभिभावक भएको अनुभूति दिलाउनुपर्ने बताए । उनले बिर्तामोडको मुख्य समस्या फोहोर व्यवस्थापन, डुबान, सार्वजनिक शौचालय लगायतका दिगो समाधानमा नगरले काम गरिरहेको जानकारी गराए । 

सम्बन्धित समाचार