भद्रपुर बजार बन्द गर्नुपर्ने माग राख्दै पसल मजदुर सङ्घले बुझाए बाणिज्य सङ्घलाई ज्ञापनपत्र
झापा । भद्रपुरका व्यवसायले साप्ताहिक बजार बन्द गराउन अटेर गरेको पाइएको छ । झापा उद्योग वाणिज्य सङ्घको निर्णय बमोजिम भद्रपुर बजार प्रत्येक बिहीबार बन्द गर्नुपर्ने नियम बनाएको छ । तर, यहाँका व्यवसायले सङ्घको निर्णयलाई उल्लङ्घन गर्दै बिहीबारका दिन पनि बजार खुला राख्न थालेको छ । नगरका व्यवसायहरूले सङ्घको निर्णय विपरीत पसल खोल्न थालेपछि त्यसकोविरुद्ध मजदुर उत्रिएका छन् ।
अखिल नेपाल पसल मजदुर सङ्घ नगर समितिले साप्ताहिक बजार बन्दको विषयमा झापा उद्योग वाणिज्य सङ्घलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमै ज्ञापनपत्र बुझाएको छ । पसल मजदुर सङ्घका अध्यक्ष पर्वत राजवंशी र सचिव रघुनाथ कर्मकारसहितको टोलीले बिहीबार बिहान सङ्घका कार्यालय सचिव दुर्गा खतिवडालाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले पनि हप्तामा एक दिन देशभर सार्वजनिक बिदा दिने नियम बनाएको छ । तर, यहाँका व्यवसायले साताभरि पसल खुला राख्दा पसलमा कार्यरत मजदुरहरू बिदा पाउनुबाट वञ्चित हुनु परेको छ । ‘हामीले हप्तामा एक दिन बिदा पाउनु पर्छ, यो नियम वाणिज्य सङ्घले बनाएको हो,’ नगर अध्यक्ष राजवंशीले भने, मजदुर सङ्घको माग सम्बोधन नभए कडा संर्घष उत्रिन बाध्य हुन्छौँ । वाणिज्य सङ्घलाई माग सम्बोधन गर्न एक साता अल्टिमेटम दिएको बताउँदै सङ्घका सल्लाहकार भोला चम्लागाईले भने, ‘अर्को बिहीबार बजार बन्द नभए तालाबन्दी कार्यक्रममा उत्रिन्छौँ ।’
साथै सङ्गठित भएका पसल मजदुरहरूको एक भेलाले नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा पर्वत राजवंशी, उपाध्यक्षमा मोना मित्र, सचिवमा रघुनाथ कर्मकार, सहसचिवमा सुनिल राजवंशी र कोषाध्यक्षमा प्रकाश कामती रहेका छन् । त्यस्तै सदस्यहरूमा दिलीप सहनी, हंस राजवंशी, सर्फराज खान, कृष्ण राजवंशी, नेत्र साह बानिया, देवा राजवंशी रहेका छन् । त्यस्तै सल्लाहकारमा सुरज कामती, निखिल घोष र भोला चम्लागाई रहेका छन् ।