बिर्तामोडमा ज्ञानेन्द्र सेक्युरिटीको अवैध धन्दा, बुबाको शव लिएर फर्किइन् छोरी
झापाको बिर्तामोड– १ मा रहेको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले आफ्नो क्षेत्राधिकार बाहिर गएर अवैध रुपमा वैदेशिक रोजगारीको काम गरिरहेको पाइएको छ । सेक्युरिटी गार्डको तालिमहरू सञ्चालन गर्ने कम्पनीले अवैध रुपमा वैदेशिक रोजगारीको काम गरेका कारण एउटा विपन्न परिवारले मानवीय र आर्थिक रुपमा ठुलो क्षति व्यहोर्नु परेको छ । गत माघ महिनामा नातामा सानिमा सासू पर्ने साधना सुब्बाले अर्जुनधारा – ४ कि २१ वर्षीया वन्दना दर्जीलाई सो सेक्युरिटी सर्भिसमा सम्पर्क गराएकी थिइन् । सुब्बा सोही कार्यालयको कर्मचारी समेत हुन् ।
सेक्युरिटी गार्डको तालिम सञ्चालन गर्ने भन्दै इजाजत लिएको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले दर्जीलाई दुई लाखमा दुबई पठाइदिने बताएपछि उनले प्रक्रिया अघि बढाएकी थिइन् । सानिमा सासूको विश्वासले प्रक्रिया अघि बढाएको बताउने दर्जीले काठमाडौँबाट बुबा टङ्क बहादुर लावरको शव लिएर फर्किनु प¥र्यो ।
ज्ञानेन्द्रका सञ्चालक ज्ञानी बोहराले दुबईका लागि जेठ ३१ गते मङ्गलवारको टिकट भएको बताएपछि दर्जी र उनको बुबा २८ गते शनिवार नै काठमाडौँ गएका थिए । २ लाखमा क्यारिफोर कम्पनीमा काम लगाइदिने, झापाबाट काठमाडौँ भाडा, खानबस्नको सुविधा दिने भनेका सञ्चालक बोहरा नै ३१ गते काठमाडौँ पुगेका थिए । उनले दर्जी बाबु छोरीलाई २९ गते अन्य महिलाहरूलाई लिएर आउने भनेका थिए ।
काठमाडौँ पुगेपछि बोहराले भनेको कावेली म्यानपावरमा पुग्दा वन्दना दर्जीका बारेमा सो म्यानपावरले कुनै पनि जानकारी नभएको बताएपछि उनीहरू निराश भएका थिए । तीन दिनसम्म काठमाडौँ भौँतारिएका बाबु छोरी म्यानपावर नभेटिएपछि आफूहरू दलालीको फन्दामा परेको थाहा पाए ।
३१ गते बिहान सुतेकै ठाउँमा वन्दनाले बुबाको शव भेटिन् । उनले बुबालाई तनाव कै कारण घटना भएको दाबी गरेकी छन् । वन्दनाले भनिन्, ‘हामीले २ लाख ऋण लिएका थियौँ । म्यानपावर पनि नभेटिएपछि ठगीमा परियो भन्दै बुबा चिन्तित हुनु भएको थियो । हाम्रो लागि २ लाख धेरै नै ठुलो पैसा हो । बुबा त्यो रात धेरै रोएर सुत्नु भएको थियो ।’
बुबाको मृत्यु भएको दिन नै ज्ञानेन्द्र सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले आफूले काठमाडौँ जान नभनेको भन्दै जिद्दी गरेका थिए । जब, वन्दनाको बुबा गुमेको खबर बोहराको कानमा पर्यो तब उनले सोही दिन उडाउने टिकट तयारी गरेको सुनाए । घटना भएपछि वन्दनाले बुबाको शव काठमाडौँबाट घर ल्याई परिवारले काजक्रिया गरिसकेका छन् । बिर्तामोडमा हुँदै सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले वन्दनाको बुबाबाट ८० हजार लिएको प्रमाण फेला परेको छ । उनले आफ्नै कम्पनीको भरपाई मार्फत रकम बुझिलिएका छन् । अवैध रुपमा वैदेशिक रोजगारीको काम भित्रभित्रै गरिरहेका उनले वन्दनालाई सहयोग मात्रै गरेको दाबी गर्दै आएका छन् । उनले भने, उनको सानिमाले विदेश पठाइदिनु भनेपछि मैले सहयोग मात्रै गरेको हो । तर, बोहरा आफैले आफ्नै कम्पनीको भरपाईमा रकम बुझ्नुले उनको अवैध काम प्रस्ट भएको छ ।
वन्दनाका आफन्तको पहलमा बोहराले असार २८ गते ७५ हजार रकम फिर्ता गरेका छन् । पीडित परिवारले काठमाडौँबाट बुबाको शव ल्याउन लागेको खर्च सहित १ लाख ५० हजार खर्च भइसकेको बताएका छन् । पीडित परिवारले अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमा सासू साधना सुब्बाले बाँकी रकम व्यहोर्नु पर्ने माग गरेका छन् । ७५ हजार फिर्ता लिएपछि सानिमा सासू सुब्बाले विभिन्न धम्की दिदैं जातीय विभेदपूर्ण व्यवहार गरिरहेको वन्दनाको परिवारले जनाएको छ । दर्जी परिवारले छोरीलाई रोजगारीमा पठाएर आर्थिक सहायता खोजी रहेको बेला घरमुलीकै ज्यान गएको छ । यही बेलामा अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमाले मानसिक रुपमा यातना दिइरहेको परिवारको दाबी छ । सामाजिक सञ्जालमा लेखिएका विभेदपूर्ण अभिव्यक्ति र ठगी बारे परिवार न्यायका लागि प्रहरी समक्ष पुगेका छन् ।