भद्रपुरमा शृंखलाबद्ध चोरी गर्नेको घरबाट पेस्तोलको ८० राउन्ड गोली बरामद, एक जना पक्राउ
झापा । गत जेठ २९ गते मध्यरातमा वडा प्रहरी कार्यालय भद्रपुरदेखि ३०० मिटरको दुरीमा दुई वटा किराना पसलमा चोरी भयो। चोरले अनिल सहनीको किनारा पसल र विनोद प्रधानको किराना पसलबाट एक लाख बढी नगद, रिचार्ज कार्ड र चुरोट चोरी गरे।
त्यस्तै भद्रपुर ५ स्थित काली मन्दिर अगाडि रहेको नागरिक मनि चेञ्जरको ढोका फुटाए। तर, चोरले गल्लाभित्र रहेको नगद पैसा चोर्न पाएन। भद्रपुर बजारमा शृंखलाबद्ध चोरीका घटना हुन थालेपछि वडा प्रहरी कार्यालय भद्रपुरलाई चोर समात्नु पर्ने ठुलो चुनौती थप्यो।बजार क्षेत्रमा रातको समयमा प्रहरीले व्यापक गस्ती बढ्यो। तर पनि प्रहरी चोर फन्दामा परेन। भद्रपुरमा त्यसपछि पनि चोरीका घटना घट्यो।
असार २५ गते मध्यरातमा भद्रपुर– ६ स्थित राज अग्रवालको प्रियङ्का मोबाइल पसलको सटरको ताला फुटाएर २९ वटा मोबाइल र नगद ६१ हजार ५ सय रुपैयाँ नगद चोरी भयो। त्यसभन्दा केही दिनअघि मात्र भद्रपुर– ५ स्थित दिवस गिरीको किंङस् लिक्यर्सबाट ठूलो परिणामको मदिराजन्य पदार्थ चोरी भयो। दिनप्रतिदिन नगर क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि वडा प्रहरीलाई मात्र नभई जिल्ला प्रहरी कार्यालय भद्रपुरलाई पनि चोर समात्नु पर्ने दबाब आइलाग्यो। प्रहरीले चोर समात्न सहयोग गर्नुपर्ने भन्दै स्थानीयसँग पनि सहकार्य गर्न थाल्यो। स्थानीयकै सहयोगमा प्रहरीले असार २८ गते चोरी घटनामा संलग्न एक जनालाई पक्राउ गर्न सफल भयो।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ देवीवस्तीका १८ वर्षीय मोहम्मद प्यारे रहेका छन्। घटनामा संलग्न सोही ठाउँका १८ वर्षीय वरुण सहनी अझै फरार रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीले चोरीका सरसामानसहित चोरलाईमात्र पक्राउ गर्ने मनसायमा थियो। त्यो स्वाभाविक पनि हो। प्रहरी पनि त्यसैमा केन्द्रित भएर अनुसन्धान गरिरहेका थिए। जब चोरको घरबाट ठूलो परिणामको पेस्तोलको गोली बरामद भयो प्रहरी आफै चकित पर्यो। गोली बरामद गरिएको घर सीमा नाकामै जोडिएको छ।
यसरी फेला पर्यो ८० राउन्ड गोली
प्रियङ्का मोबाइल पसलमा चोरी भएको करिब २० दिनअघि चोरी आरोपमा पक्राउ परेका मोहम्मद प्यारे सोही पसलबाट एउटा मोबाइल खरीद गरेका थिए।
मोबाइल खरीद गरेको केही दिनपछि उनी फेरि त्यही पसल धाउन थाले। उनले पसलका सञ्चालक राज अग्रवाललाई भेटेर पटकै पिच्छे एउटै कुरा सोध्थे, ‘दाजु अस्ति तपाईँको बाट पसलबाट किनेको मेरो मोबाइल हरायो, हराएको मोबाइल कसरी पत्ता भेटाउन सकिन्छरु’ जवाफमा पसल सञ्चालक राजले भने, ‘भाइ मोबाइल हराउँदा आइएमइआइ नम्बरसहित प्रहरीमा उजुरी दिनुपर्छ, मेरोबाट पत्ता लाग्दैन।’
दुई जनाबीचको कुराकानी राजले जस्ताको त्यस्तै सुनाए। पसलमा चोरी हुन लागेको उनले सुइँकोसमेत पाएनन्। पसल चोरी गर्ने चोर जब प्रहरीले समात्यो त्यसपछिमात्र मैले विगतको कुरा सम्झिएको उनले बताए।
मोहम्मद प्यारे मङ्गलवार दिउँसो देवीवस्तीमा नयाँ मोबाइल चलाउँदै बसिरहेका थिए। त्यही ठाउँमा पुगेका नगरपालिकाका एक कर्मचारीले शङ्का लागेर प्यारेमाथि निगरानी बढायो। ती कर्मचारीले प्यारेसँग मोबाइलको बारेमा सोधी खोजी सुरु गर्न थाल्यो। कुराकानी गर्दा झन् शङ्का उत्पन्न भएपछि ती कर्मचारीले पसल सञ्चालक राजलाई त्यहीबाट फोन गरेर हराएको मोबाइलको आइएमइआइ नम्बर मागे।
पसलमा चोरी भएको मोबाइलको आइएमइआइ नम्बर र उनले चलाएको आइएमइआइ नम्बर एउटै प्रमाणित भएपछि ती कर्मचारीले तत्काल प्रहरीलाई खबर गरी त्यहाँ बोलाए। लगतै प्रहरीले प्यारेलाई पक्राउ गरी वडा प्रहरी कार्यालय लगे।
वडामा राखेर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेको स्वीकार गरे। चोरी घटनाहरूमा साथी वरुण पनि संलग्न रहेको उनले प्रहरी समक्ष थप कुरा खोले। वरुण कहाँ छ भनेर प्रहरीले सोध्दा उ बन्दुक ल्याउन सिराहा गएको बयान दिए।
प्रहरीले गोली कहाँ छ त भनेर फेरि सोध्दा घरको शौचालय पछाडि इँटाले छापेर राखेको बताए। त्यसपछि प्रहरी टोली बुधवार बिहान ३ बजे प्यारेको घरमा छापेर ८० राउन्ड पेस्तोलमा लाग्ने गोली, एउटा मोबाइल, मोबाइलमा लाग्ने २७ थान चार्जर, सटर फुटाउन प्रयोग गर्ने फलामे रड र पसल फुटाएर ल्याएका तालाहरूसमेत बरामद गरेको हो। प्रहरीले चोरी भएका मोबाइलका कार्टुनहरू चाहिँ प्रियङ्का मोबाइल पसल पछाडिको झार जङ्गलबाट फेला पारेको थियो।
यता घटनामा संलग्न फरार रहेका वरुण सिराहा गएका रहेछन्। उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको डीएसपी पाठकले बताए। ‘चोरी घटनामा संलग्न व्यक्तिको घरबाट गोली बरामद भएपछि हामी पनि छक्क परेका छौँ,’ डिएसपी थापाले भने, ‘उनीहरूले गोली किन र के प्रयोजनका लागि ल्याएको रहेछ त्यस बारेमा छुट्टै अनुसन्धान थालिसकेका छौँ।’ चोरी भएका मोबाइललगायत अन्य सरसामानको बारेमा पनि अनुसन्धान अघि बढाएको उनले बताए।
सीमा नाका नजिकैबाट ठूलो परिणामको पेस्तोलको गोली बरामद भएपछि नगरमा सुरक्षा थ्रेट बढेकोमा स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।