झापामा पिकअप गाडीको ठक्करबाट अटो चालकको मृत्यु, दुई जना घाइते
झापा । झापामा पिकअप गाडीको ठक्करबाट अटो चालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- ७ निवासी ४१ वर्षीय अटो चालक भानु खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मेची राजमार्ग अन्तरगत बुद्धशान्ति- ४ मा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअप गाडीले सोही दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परी अटोमा सवार चालक खड्का, सोही गाउँपालिका- ७ निवासी १८ वर्षीया बिना सेन्चुरी र वडा नम्बर ४ निवासी ३२ वर्षीया इन्दिरा राई घाइते भएका थिए ।
घाइते तीनै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा चालक खड्काको मृत्यु भएको डिएसपी पाठकले बताए । यता प्रहरीले पिकअप गाडी र चालक इलाम जिल्ला सूर्योदय नगरपालिका १० निवासी ५१ वर्षीय दिलीप कुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।