बिर्तामोडमा इन्धनको मुल्य वृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन
झापाको बिर्तामोडमा किसानहरूले मूल्यवृद्धि विरुद्ध विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ झापाले सरकार विरुद्ध राँके जुलुस लगाउँदै मूल्यवृद्धिको विरोध जनाएको हो ।
अखिल नेपाल किसान महासंघ झापामा आबद्धहरूले बिर्तामोडमा राँकेसहितको प्रदर्शन गर्दै विरोध जनाएका हुन् । राँकेसहित बिर्तामोड परिक्रमा गरेका उनीहरूले मुक्ति चोकमा कोणसभा गरेका छन् । मूल्यवृद्धि र मलविउको प्रबन्ध नमिलाएको भन्दै सरकारको विरोध जनाएका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इन्चार्ज अग्नि खरेलले वर्तमान सरकार किसान मारा भएको बताए । किसान मारा सरकारका कारण देशभरका किसान आन्दोलित भएको बताएका छन् । उनले सरकारले बजेट, नीति तथा कार्यक्रम पनि किसानको पक्षमा नल्याएको बताए ।
कोणसभामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष गोपाल चुडालले किसानको समस्या हल नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले सरकार किसानका लागि अन्धो भएको आरोप लगाए । सरकार अन्धो, निकम्मा र पतन भएको छ, अध्यक्षले थपे – वर्तमान गठबन्धन सरकार किसानको विपक्षमा उभियो ।