भद्रपुरमा बालश्रमविरुद्धको दिवस मनाइयो
भद्रपुर । झापाको भद्रपुरमा अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवस मनाइएको छ । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको भद्रपुरले विगतमा भए–गरेका बालमैत्री अभियान र नगरमा बालश्रमको अवस्थाको समीक्षासहित अन्तरक्रिया गरेको थियो ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्, १ नं प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले सरकारी स्तरबाट बालश्रम शोषणविरुद्ध भइरहेका प्रयास र बाल अधिकारका विषयका कानुनी प्रावधानहरूका बारे जानकारी गराएका थिए ।
भद्रपुर नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत र सञ्जु कोइरालाले सञ्चालन गरेको अन्तरक्रियामा नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल, साना हातहरूका विक्रम वाग्ले, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका सचिव दीपक अधिकारी, ७ नं वडाध्यक्ष अभिषेक ढुङ्गानालगायतले भद्रपुरमा अहिले पनि बालश्रमको अवस्था रहेकोले बालश्रमविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी र नगरप्रमुख पोखरेलले बालबालिकाको क्षेत्रमा लगानी बढाउने र बालश्रमविरुद्ध विविध क्रियाकलाप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।