चरा खोजकर्ता देवेन खरेललाई नाट्टा उत्कृष्ट सम्मान
यस वर्षको नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार चरा खोजकर्ता देवेन खरेललाई प्रदान गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाट्टा प्रदेश नम्बर १ को शनिवार बिर्तामोडमा सम्पन्न १० ओैँ वार्षिक साधारण सभाका अवसरमा खरेललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
नगद ५ हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला कार्यक्रमका प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा नाट्टा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले संयुक्त रूपमा प्रदान गरेका हुन् । नाट्टा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पर्यटन व्यवसायीहरूको हक, हित अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जोड दिएका थिए । वक्ताहरूले विविध कारणले दैनिक जसो पर्यटन व्यवसायीहरू पलायन भएकाले उनीहरूको समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए । सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा बजेट विनियोजन गरे पनि ठोस रूपमा कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
उनीहरूले देशभरका पर्यटन व्यवसायीहरू एउटै भएका राज्यले बजेट विनियोजन गर्दा समावेशी रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष थापा, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाह,नाट्टाका सल्लाहकार भविशकुमार श्रेष्ठ , नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, नाट्टा सुदूरपश्चिम प्रदेशका सचिव शिवहरि पाण्डे, नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा,नेपाल पर्यटन बोडका अधिकृत सूर्य थपलिया, सम्मानित व्यक्ति देवेन खरेल, होटेल व्यवसायी संघ १ नम्बर प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतले बोल्नु भएको नाट्टाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । महासचिव नवीन खरेलले सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सबैलाई वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले स्वागत गरेका थिए ।