किन आए काँकडभिट्टा नाकामा बंगलादेशी राजदूत ?
काँकडभिट्टा । बंगलादेशका राजदूत महामहिम सालाउदिन नोमन चौधरी बिहीबार काँकडभिट्टा आएका छन् । नेपाल(बंगलादेश च्यामबर अफ टे्रडर्सले मेची भन्सार कार्यालयको सभा हलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन् आएका हुन् ।
कार्यक्रममा उनले नेपाल-बंगलादेशबीच निकट भविष्यमा २० वस्तुमा व्यापार सम्झौता गरिने बताएका छन् । बिहीबार नेपाल(बंगलादेश च्यामबर अफ टे्रडर्सले मेची भन्सार कार्यालयको सभा हलमा आयोजना गरेको कार्यक्रममा राजदूत चौधरीले सो कुरा बताएका हुन् ।
२-३ महिना भित्र २० वटा वस्तुहरू बंगलादेश निर्यात गर्न सहज हुने गरी हस्ताक्षर गरिने उनले बताए । २० वटा वस्तुहरू के-के हुन् त्यसबारेमा भने राजदूत चौधरीले खुलाएनन् । व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा गहन भएर छलफल गरिने बताइएको छ ।
कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीले नेपाल, भारत र बंगलादेशबीच व्यापार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गरेर अघि बढिने बताएका छन् । मेचीनगर नगरपालिका र बंगलादेशबीच भगेनी सम्बन्ध कायम गर्न स्थानीय सरकारको तर्फबाट नगर प्रमुख र उपप्रमुखले राजदूत चौधरीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल-बंगलादेश फ्रेन्डसीप सोसाइटीका अध्यक्ष डा. खालिद हुसेन, मेची भन्सार कार्यालयका प्रमुख केशवराज ओली, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, व्यवसायी वन्दना मेचेलगायतको उपस्थिति रहेको थियो ।