२०८३ असार ८ गते , सोमबार

एसिड पीडित छात्राको आत्मबल बढाउने प्रयास

sajilo news
झापा
२०७९ जेष्ठ २३ गते , सोमबार
एसिड पीडित छात्राको आत्मबल बढाउने प्रयास

म्याग्दीको सदरमुकाम बेनीकी दृष्टि थजाली र अनिमा केसीलाई एसिड आक्रमणका समाचारले निकै भावुक बनाउँछ। रिसइबी र बदलास्वरूप किशोरी र महिलालाई ‘कुरुप’ बनाइदिने नियतले गरिने यस्ता आक्रमणका खबरले उनीहरुलाई झस्काउँछ।

आफ्नै उमेरका छात्राहरू एसिड प्रहारबाट गम्भीर घाईते हुदाँ उनीहरूको मन चसक्क दुख्छ। नाता, साथीभाई र कुनैपनि सम्बन्ध नभएपनि छात्रामाथि लगातार हुने एसिड आक्रमणका समाचारहरूमा सबैभन्दा पहिले ध्यान जाने गरेको छ।

म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत थजाली र केसी एसिड आक्रमणका विरुद्ध हुने आन्दोलन र दवावमूलक कार्यक्रमसम्म पुग्न सक्दैनन्। कक्षा ९ कि अनिमा र कक्षा ८ कि दृष्टिले वीरगञ्जकी मुस्कान खातुन माथिको एडिस आक्रमणको समाचार देखेका थिए।

छात्राको इच्छा विपरीतको चाहनालाई पूरा गर्न नसक्दा जीवन नै बर्बाद पार्ने पीडकलाई दवाव दिने गरी म्याग्दी जेसीसको आयोजनामा भएको १८ औँ अन्तर मावि रनिङ्गशिल्ड लोकनृत्य प्रतियोगितामा उनीहरु नृत्यसहित देखिए।

दृष्टि र अनिमालाई सौन्दर्यकला ब्यवसायी संघ म्याग्दीको अध्यक्ष गंगा थापाको सहयोगले सन्देश प्रवाहमा थप सहज भयो। ‘हामीले समाजलाई एसिड पीडितको अवस्था देखाउन खोजेका थियौँ, ‘देशैभरी छरिएर रहनुभएका पीडितको साथमा रहेको सन्देश प्रवाह गर्न सफल भएका छौँ’, अनिमाले भनिन्।

उनले एसिड पीडित र बलात्कारबाट पीडित स्कुले छात्राहरूको आत्मबल बढाउन आवश्यक रहेको बताइन्। एसिड आक्रमणबाट लामो समय अस्पतालको बसाई, महँगो खर्च र पीडा छोपेर नयाँ जीवन शुरू गर्न ठूलै हिम्मतको आवश्यकता पर्ने भएकाले म्याग्दी जिल्लामा यस्ता घटना नहोस् भन्नका लागि सचेत बनाइएको छात्राद्वयको भनाई छ।

एसिड पीडितलाई थप मानसिक तनाव दिनेहरू समेत पीडक सरह भएको उनीहरुको भनाई छ।

एसिड खन्याउनेलाई समाजले अझै संरक्षण गरेको गुनासो समेत उनीहरूको छ। अनुहार नै एसिडले बिग्रिंदा पीडितलाई समाजमा छिछि र दूरदूरको अवस्था रहने हुँदा यस्तोबेला सबैको साथ, सहयोग आवश्यकता पर्ने हुनाले यस्ता कार्यक्रममा विद्यालयको पनि सहयोग रहने  प्रिन्सिपल दिपक सुवेदीले बताए।

उनले बलात्कारजन्य गतिविधिलाई न्यूनीकरण गर्न यसअगाडि प्रधानमन्त्रीलाई समेत छात्राहरूले नै ज्ञापनपत्र पठाएको बताउँदै समाजका विकृति विरुद्धको अभियानमा विद्यार्थीमार्फत हुने सन्देशमूलक अभियानमा विद्यालयले प्रोत्साहन गर्ने बताए।

अन्तर मावि रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो। एसिड आक्रमणका पीडितको कथालाई लिएर उपस्थित भएका छात्राद्वयको प्रस्तुतीले धेरैलाई भावुक बनाएको थियो। थाहाखबरबाट

सम्बन्धित समाचार