शिवसताक्षीका आगलागी पीडित परिवारलाई घरायसी सामाग्री प्रदान
धरमपुर बजार व्यवस्थापन समिति र धरमपुर पेसा व्यवसायी संघले स्थानीय आगलागी पीडित परिवारलाई ७७ हजार मुल्य बराबरको घरायसी सामाग्री हस्तान्तर गरेका छन् ।
शिवसताक्षी- १ स्थित धरमपुरमा भएको आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका अम्बरबहादुर नेम्बाङको परिवारलाई राहत स्वरूप घरायसी सामाग्री सहयोग हस्तान्तर गरेका हुन् । नेम्बाङको गत बिहीबार अन्दाजी १२ः३०बजे कोही नभएको समयमा घरमा आगो लागेको थियो । मानवीय क्षति नभए पनि घरमा भित्र रहेका सम्पूर्ण सरसामान भने जलेर नष्ट भएको थियो । आगलागी पीडित नेम्बाङ भने, आफ्नो आङमा लगाएको कपडा बाहेक केही पनि सकुशल रहेन ।
दैवको लीला अपरम्पार छ, हुने हार दैव नटार भने झैँ हुने कुरा भएरै छाड्यो, तर गरिबलाई मात्र किन यस्तो बिपत आइ लगेको होला उनले भने । उनी ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको थिए । घडेरीमा घर बनाएको थिए तर त्यो पनि खरानी भयो, अब बर्खाको बेला घरको यो गति दातालाई कुर्नु बाहेक अरू विकल्प नरहेको छैन, उनले भने । यता उनको परिवारलाई सहयोग जुटाउन धरमपुर बजार व्यवस्थापन समिति र धरमपुर पेसा व्यवसायी संघको संयुक्त रुपमा पहलमा आर्थिक संकलन अभियान गरेको थियो । समितिले ७७ हजार १ सय ४५ रुपैयाँ संकलन गरेको हो ।
तीन दिनको अवधिमा यतिका रकम संकलन गरी पीडित परिवारलाई घरायसी सामाग्री खरिद गरी हस्तान्तरण गरिएको धरमपुर बजार ब्यस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले बताए । उनका अनुसार आज अति आवश्यक ग्याँस चुला सेट र स्टिल ¥याक पीडितको घरैमा गएर नेम्बाङ परिवार हस्तान्तरण गरिसको छ भने बाकी सामाग्री घर निर्माण पश्चात् प्रदान गरिने उनले जानकारी दिए । नेम्बाङको घर भने शिवसताक्षी खेलकुद महासंघ र राष्ट्रिय युवा संघ शिवसताक्षीले निर्माण गरिदिने भएका छन् । हाल विभिन्न दाताहरूले खाद्यान्न ,लत्ताकपडा र नगद सहयोग दिएर उनको परिवारलाई सहयोग जुट्दै आएको छ ।