२०८३ असार ११ गते , विहीबार

टिपरको ठक्करबाट बालिकाको मृत्यु, बिर्ताबजार बन्यो तनावग्रस्त

sajilo news
पार्थ मण्डल
२०८३ असार ११ गते , विहीबार
टिपरको ठक्करबाट बालिकाको मृत्यु, बिर्ताबजार बन्यो तनावग्रस्त

झापा । झापाको बिर्ताबजारमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु पश्चात् बिर्ताबजारमा तनाव उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ ७ बजे बिर्तामोड नगरपालिका ३ बिर्ताबजारको हटियालाईनस्थित भित्री सडक खण्डको अधुवाखोला पुलमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ नम्बरको टिपरले पैदल यात्री सोही ठाउँका किशोर चापागाईँकी छोरी १० वर्षीया अनुकृति चापागाईँलाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा पुराउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

बालिकाको शव सोही अस्पतालको शव गृहमा राखिएको छ । घटनास्थलमा भेला भएका आक्रोशित स्थानीयको भीडले प्रहरी चौकी बिर्ता बजार घेराउ गर्दै ठक्कर दिने टिपरलाई तोडफोडसहित आगजनीको प्रयास गरेका थिए ।

प्रहरी चौकी बिर्ता बजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमान्डमा खटिएको टोलीले टिपर चालक बुद्धशान्ति गाउँपालिका १ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकको कमान्डमा ३५ जनाको टोली खटाइएको थियो । 

सम्बन्धित समाचार