सदरमुकाम भद्रपुरमा पहिलो इभी चार्जिङ स्टेसन सञ्चालनमा
झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक विद्युतीय सवारीसाधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । भद्रपुर नगरपालिका–७ चन्द्रगढीस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिक निर्माण गरिएको चार्जिङ स्टेसनको बुधबार एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख पोखरेलका अनुसार भद्रपुरमा इभी सवारीसाधनको संख्या बढ्दै गएपछि चार्जिङ स्टेसनको आवश्यकता महसुस गरी नगरपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग माग गरेको थियो । सोही अनुरूप नगरपालिकाले आवश्यक स्थान उपलब्ध गराएपछि प्रदेश सरकारले ठेक्का प्रक्रियामार्फत चार्जिङ स्टेसन निर्माण गरिदिएको उनले बताए ।
‘यो भद्रपुर नगरपालिकाको पहिलो इभी चार्जिङ स्टेसन हो, यहाँ एकैपटक दुईवटा गाडी चार्ज गर्न सकिन्छ,’ नगर प्रमुख पोखरेलले भने, ‘यसको दुरुपयोग नभई सदुपयोग होस् भन्ने अपेक्षा गरेका छौं ।’ वातावरणमैत्री विद्युतीय सवारीको प्रयोग पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन चार्जिङ पूर्वाधार विस्तार आवश्यक रहेको उनले बताए ।
नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार चार्जिङ शुल्क प्रतियुनिट १४ रुपैयाँ निर्धारण गरिएको छ । चार्जिङ स्टेसनबाट प्राप्त कुल आम्दानीमध्ये २० प्रतिशत मर्मतसम्भार तथा विद्युत् खर्चमा प्रयोग गरिनेछ। बाँकी ८० प्रतिशत रकममध्ये ४० प्रतिशत नगरपालिकाको आम्दानी हुनेछ भने ४० प्रतिशत कोशी प्रदेश सरकारको खातामा जम्मा गरिने उनको भनाई छ । स्थानीयस्तरमा इभी पूर्वाधार विस्तारसँगै भद्रपुर क्षेत्रमा विद्युतीय सवारी प्रयोगकर्तालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।