२०८३ असार १० गते , बुधबार

बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब १५ करोड

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब १५ करोड

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बुधवार आयोजित नगर सभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आयव्यय विवरण प्रस्तुत गर्दै बजेटको बारेमा जानकारी गराएका थिए । 

प्रस्तावित बजेटमा आन्तरिक स्रोत, संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सशर्त तथा समपूरक अनुदानलाई आयको स्रोतका रूपमा समेटिएको छ । बेरुजु असुलीबाट प्राप्त हुने सात लाख रुपैयाँसमेत आयमा गणना गरिएको छ ।नगरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ३६ करोड ३० लाख ५३ हजार ५७६ रुपैयाँ विनियोजन गरेको छ । प्रशासनिक खर्चका लागि २४ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, खेलकुद तथा वडास्तरीय कार्यक्रमका लागि ९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासअन्तर्गत कृषि, पशुपालन, उद्यम विकास, रोजगारी, सीपमूलक तालिम, पर्यटन तथा अन्य कार्यक्रमका लागि ३ करोड ८१ लाख रुपैयाँ छुट्याइएको छ । वन, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापनका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा ३ करोड १८ लाख, स्वास्थ्य कार्यक्रमका लागि १ करोड, कृषि विकासका लागि १ करोड ६ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सीप तथा रोजगारी प्रवर्द्धनका लागि ७१ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सहकारी प्रवर्द्धनका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले सीमित स्रोत साधनका बाबजुद बजेट कार्यान्वयन प्रभावकारी रहेको बताइन् । आन्तरिक आम्दानी अपेक्षाअनुसार बढ्न नसक्नु, संघीय अनुदानमा निर्भरता तथा निर्माण सामग्रीको मूल्यवृद्धि चुनौतीका रूपमा रहेको उनको भनाइ थियो ।

‘चुनौतीका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ,’ उनले भनिन् । बैठकमा विषयगत समितिका संयोजकहरूले आफ्नो क्षेत्रका उपलब्धि, समस्या र चुनौती समेटिएका प्रतिवेदन नगर प्रमुखलाई बुझाएका थिए ।

सम्बन्धित समाचार