२०८३ जेष्ठ २७ गते , बुधबार
मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु
लेटाङ । मोरङको लेटाङ नगरपालिका–२ बुधबारे धोबी चोक नजिक सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब १०ः३० बजे प्र १–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी कञ्चन राईलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुचना राई, मोटरसाइकल चालक सुशील मगर र मोटरसाइकलको पछाडि सवार मौसम मल्ल ठकुरी घाइते भएका थिए। उनीहरूको उपचारपछि डिस्चार्ज गरिएको र हाल प्रहरीको निगरानीमा राखिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।