होटेलमा तास खेलिरहेका ८ जना पक्राउ
सुनसरीको धरानस्थित एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले बुधवार बिहानका राति पक्राउ गरेको छ । सञ्जय राईले धरान उपमहानगरपालिका–१० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटेल’बाट राति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक राईसहित धरान–१६ का ३३ वर्षीय जीवन बस्नेत, धरान–११ का ४३ वर्षीय मोहन गुरुङ, ३५ वर्षीय शालीन राई, धरान–१३ का २७ वर्षीय विवेक राई, ४२ वर्षीय मणिराज राई, धरान–१९ का ३९ वर्षीय अरुण केसी र ३८ वर्षीय आइत लिम्बू रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ५ बुक तास र २ लाख ५२ हजार ८ सय ३५ रुपैयाँ बरामद भएको छ । उनीहरुविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।