२०८३ असार ९ गते , मंगलबार

झापामा विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस भव्य रुपमा मनाइने

sajilo news
झापा
२०७९ असार २६ गते , आईतबार
झापामा विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस भव्य रुपमा मनाइने

नेपाली काँग्रेसका संस्थापक नेता एवं आधुनिक नेपालका परिकल्पनाकार महामानव विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस विविध रचनात्मक कार्यक्रमका साथ झापाका १५ वटै पालिकामा मनाइने भएको छ ।
नेपाली काँग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ÷नगर सभापतिहरूको संयुक्त बैठकले गाउँ÷नगर पालिका तहमा रक्तदान, बृक्षरोपण, बिचार गोष्ठी लगायतका विविध रचनात्मक कार्यक्रम गरी विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउने निर्णय गरेको हो ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न बैठकले उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न गाउँ÷नगर पालिकामा जिल्ला प्रतिनिधि समेत तय गरेको सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
बैठकले झापाको चन्द्रगढीस्थित बिपीको सालिकमा बिहान ८ बजे माल्यार्पणसहित कोणसभा राख्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए ।
यसैबीच बैठकले मेचीनगरमा राम कट्टेल, बुद्धशान्तिमा राजकुमार बराइली, अर्जुनधारामा केशवराज पाण्डे, बिर्तामोडमा सुधीरकुमार सिवाकोटी, कचनकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, भद्रपुरमा नवीन विमली र गणेश पोखरेल, हल्दिबारीमा भूमिराज राई, बाह्रदशीमा हुकुमसिंह राई र भूमिप्रसाद राजवंशीलाई जिल्ला प्रतिनिधि तय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
यसैगरी कनकाइमा जिल्ला सभापति देउकुमार थेबे र किरण भट्टराई, झापामा कमल भण्डारी, शिवसतासीमा जयनारायण शाह, कमलमा फूलवती राजवंशी, गौरादहमा ढुण्डि भण्डारी र चन्द्रा खड्का भट्टराई, दमकमा शेरबहादुर भट्टराई, गौरीगञ्जमा रेगिना भट्टराई प्रसाईँ र प्रकाश कार्कीलाई जिल्ला प्रतिनिधि तय गरेको बताइएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं प्रजातान्त्रिक÷समाजवादी विचारधाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । उनको जन्म विसं. १९७१ भाद्र २४ गते भएको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाको राजनीतिक जीवन भारतमा चलिरहेको ‘भारतको स्वतन्त्रता आन्दोलनबाट सुरु भएको थियो ।
वि।सं १९८८ मा बनारसबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका कोइरालाले बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका थिए । विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनले लामो समयसम्म जेल–नेल र निर्वासनसम्मको कठोर यातना भोगेका थिए । २००३ मा उनले स्थापना गरेको नेपाली राष्ट्रिय काँग्रेस पार्टी पछि गएर नेपाली काँग्रेस बनेको हो ।
नेपाली साहित्यमा बिपी कोइरालाका नामले स्थापित उनका मनोवैज्ञानिक कथा, उपन्यास लगायतका थुप्रै कृति प्रकाशित छन् । मनोवैज्ञानिक साहित्यिक रचनामार्फत पनि उनले सामाजिक रूपान्तरण, मानव स्वतन्त्रता र परिवर्तनको पक्षमा सशक्त विचार प्रवाह गरेका छन् । 

सम्बन्धित समाचार