२०८३ असार ९ गते , मंगलबार

डिआइजी गिरीले दिए प्रदेश १ का प्रहरी प्रमुखहरूलाई यस्तो निर्देशन, रोकिएला त आपराधिक क्रियाकलापसँगै तस्करी ?

sajilo news
झापा
२०७९ असार २४ गते , शुक्रबार
डिआइजी गिरीले दिए प्रदेश १ का प्रहरी प्रमुखहरूलाई यस्तो निर्देशन, रोकिएला त आपराधिक क्रियाकलापसँगै तस्करी ?

पूर्वका सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा चोरी, तस्करी नियन्त्रण गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख तथा डिआइजी सुदिप गिरीले निर्देशन दिएका छन् । 

भर्खरै सरुवा भएर आएका डिआइजी गिरीले शुक्रबार भिडियो कन्फरेन्सद्वारा प्रदेश १ का जिल्ला प्रहरी प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् । प्रहरी सम्पादन गर्ने काम कारबाहीमा देखा परेका समस्या र चुनौतीहरूलाई तत्काल पहिचान गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालय प्रमुखहरूले त्यसको समाधान गर्न उनले आग्रह गरेका छन् ।

सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गरी अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागु औषध, चोरी तस्करी नियन्त्रण, सीमावर्ती अपराध लगायतका विषयमा प्रविधिहरूको प्रयोग गरी विशेष चनाखो रही सामूहिक भावनाका साथ प्रहरी परिचालन गरी काम कारबाही गर्न समेत उनले निर्देशन दिएका छन् ।  सोही क्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखहरूले समेत आआफ्नो जिल्लाको अवस्था, समस्या र चुनौतीको बारेमा डिआइजी गिरीलाई अवगत गराएका थिए । पछिल्लो समयमा मोरङ र सुनसरी नाकाबाट तस्करी धन्दा मौलाएको छ । डिआइजी गिरी आएपछि तस्करी गतिविधि रोकिने वा झन् बढ्ने हो यस बारेमा सबैको चासो बढेको छ । 

सम्बन्धित समाचार