२०८३ असार ९ गते , मंगलबार

भद्रपुर नाकामा प्लान्ट क्वारेन्टिन कार्यालय स्थापनाको माग

sajilo news
झापा
२०७९ असार २० गते , सोमबार
भद्रपुर नाकामा प्लान्ट क्वारेन्टिन कार्यालय स्थापनाको माग

विहार तथा पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा प्लान्ट क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाहरूले माग गरेका छन् ।

भद्रपुरमा सोमबार क्वारेन्टिन कार्यालय काँकडभिट्टाको आयोजनामा प्लान्ट क्वारेन्टिन सरोकारवाला समन्वय बैठकमा सहभागीहरूले विना चेक जाँच कृषिजन्य वस्तुको आयात भएको हुँदा सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका हुन् ।

बैठकमा कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले प्लान्ट क्वारेन्टिन कार्यालयको मुख्य काम, कर्तव्य र अधिकारको विषयमा जानकारी दिएका थिए । उनले दोस्रो वा तेस्रो देशबाट कुनै पनि रोग कीराहरूको लक्षणहरू भएको, क्षतिग्रस्त र सडेगलेका बिरुवा तथा बिरुवाजन्य उपजहरू परीक्षण विना नेपाल प्रवेशमा अनुमति दिन नहुने बताए ।

उनले अवैध रुपमा बिरुवा तथा बिरुवाजन्य वस्तु नेपाल प्रवेश गर्न निषेध गर्नुपर्ने, लुकीछिपी ल्याइएका वस्तु नियन्त्रणमा लिएर रोग फैलिन नदिन नष्ट गर्नुपर्ने, कृषिजन्य वस्तु पैठारी हुँदा अनिवार्य रुपमा बिरुवा स्वस्थताको प्रमाणपत्र हुनुपर्ने लगायतका बारेमा बताएका थिए ।

उनले हाल भद्रपुर, गौरीगञ्ज र इलामको पशुपति नाकाबाट आयात तथा निर्यात हुने सम्पूर्ण कृषिजन्य सामाग्रीको परीक्षण काँकडभिट्टा कार्यालयबाट भइरहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा काँकडभिट्टा नाका बाहेक अन्यबाट कृषिजन्य वस्तुको आयात निर्यात शून्य रहेको जानकारी दिए ।

कार्यक्रममा उद्योग संघ झापाका अध्यक्ष यामबहादुर श्रेष्ठले भद्रपुर नाकामा भन्सार भए तापनि प्लान्ट क्वारेन्टिन कार्यालयको अभावमा विना चेकजाँच कृषिजन्य वस्तुहरू आयात भइरहेको बताउँदै तत्काल कार्यालय स्थापनाको माग गरेका छन् ।

कार्यक्रममा भद्रपुर भन्सारका प्रमुख रामेश्वरकुमार मिश्रले हालसम्म कृषिजन्य सामग्री यो नाका भएर नआएको बताए । उनले खुल्ला सिमानाको फाइदा उठाएर लुकीचोरी अवैध रुपमा नेपाल सामान भित्र्याउन नदिनका लागि सबै सरोकारवाला निकायलाई आग्रह गरे ।

कार्यक्रममा फलफूल तथा सब्जी व्यवसायी संघ भद्रपुरका अध्यक्ष सुनिलकुमार शाहले दैनिक जसो सयौँ केजी कृषिजन्य वस्तु भद्रपुर नाका भएर नेपाल आयात भइरहेको बताए । उनले चेकजाँचका लागि काँकडभिट्टाको क्वारेन्टिन कार्यालयसम्म पुग्न टाढा हुने भएकाले व्यापारीहरूले परीक्षण विनै भारतीय कृषिजन्य वस्तु आयत गर्नुपर्ने बाध्यता रहेको बताए ।

सम्बन्धित समाचार