२०८३ असार ९ गते , मंगलबार
दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
सुनसरीको भोक्राहा नरसिंह–५ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुई वटा मोटरसाइकलमा चार जना सवार थिए । दुर्घटनामा परी को १९ प ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह–५ बस्ने ४५ वर्षीय रजाक मियाको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।