२०८३ असार ८ गते , सोमबार

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित पक्राउ परेका ११ जना व्यवसायी रिहा 

sajilo news
झापा
२०७९ असार ८ गते , बुधबार
बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित पक्राउ परेका ११ जना व्यवसायी रिहा 

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित पक्राउ परेका ११ जना रिहा भएका छन् । अराजक नभई शान्तिपूर्ण आन्दोलन गर्ने सर्तमा उनीहरूलाई रिहा गरिएको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । त्यस बारेमा  इलाका प्रहरी कार्यालय अनारमनिमा लिखित सहमति भएको उनले बताए । साथै पार्टी नेतृत्व तहले पनि यस बारेमा पार्टीभित्र छलफल गरी घटनालाई साम्य बनाउने पहल गर्ने उनको भनाई छ । 
बिर्तामोड ५ स्थित कृषिथोक नजिकैको बुधबारे हटियाका व्यवसायीहरूलाई बिजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि बिर्तामोड उद्योग वाणिज्य सङ्घ नेतृत्वमा आन्दोलनरत व्यवसायीहरूले बिर्तामोड नगरपालिका कार्यालय घेराउ गर्दै नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै ११ जनालाई बुधबार दिउँसो पक्राउ गरेको थियो । 
पक्राउ पर्नेहरूमा वाणिज्य सङ्घका अध्यक्ष सिवाकोटी , वरिष्ठ उपाध्यक्ष न्यौपाने, सन्तोष उप्रेती, राधिका चुँडाल, कल्पना पुरी , सङ्गीता न्यौपाने , तुलसा तामाङ, निरु अधिकारी , एकता कडरिया विष्टलगायत रहेका थिए । पक्राउ गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो । यता  बिर्तामोड उद्योग वाणिज्य सङ्घले पक्राउ गरिएका आफ्ना अध्यक्षसहित सबैलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गर्दै विज्ञप्ति नै प्रकाशन गरेका थिए । 

सम्बन्धित समाचार