बिर्तामोडमा मिटर लफडा : व्यापारीको समस्या समाधानका लागि कार्यदल गठन
बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मङ्गलवार बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाईँ र पूर्व जनप्रतिनिधि गोपीचन्द्र गिरी सदस्य रहेका छन् । यस्तै पूर्व अनारमनि गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनि गाविस उपाध्यक्ष लोकबन्धु कन्दङ्वा र वडा नम्बर ५का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहनेगरि सल्लाहकार समिति गठन गरिएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरी निर्णय गरिएको छ ।
कार्यपालिका बैठकले नगरप्रमुख पवित्रा महतारा प्रसाईँमाथि भएको अशोभनीय एवं अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार कार्यपालिकासहित सर्वदलीय बैठकमा बुधबारे हटियाको विषयमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देखाएको व्यवहारप्रति नगरको ध्यानाकर्षण भएको जनाइएको हो । अव उप्रान्त कतैबाट यस प्रकारका अराजक गतिविधि दोहोरिएमा कानुन अनुसार कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै मङ्गलवार बसेको कार्यपालिकाको बैठकले राजश्व परामर्श समिति गठन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम समिति गठन गरिएको हो । नगर उपप्रमुख सङ्ग्रौलाको संयोजकत्वमा गठित यस समितिमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे,रोहित प्रसाईँ र कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा सदस्य रहेका छन् । बैठकले विभिन्न ६ वटा विषयगत समिति समेत गठन गरेको छ । जसमा पूर्वाधार विकास समिति,आर्थिक विकास समिति,वातावरण तथा विपद् व्यवस्थापन समिति,सामाजिक विकास समिति,विधेयक समिति र सार्वजनिक सेवा तथा क्षमता विकास समिति रहेका छन् ।
पूर्वाधार विकास समितिको संयोजकमा कार्यपालिका सदस्य जगतबहादुर राजवंशी र सदस्यहरूमा वडाध्यक्ष अजय कार्की,किशोर पौडेल रहेका छन् । यस्तै आर्थिक विकास समितिको संयोजकमा कार्यपालिका सदस्य सङ्गीता सिवा र सदस्यहरूमा वडाध्यक्ष राहुल शर्मा, कार्यपालिका सदस्य सिता ढुङ्गाना विश्वकर्मा चयन भएका छन् । यस्तै वडाध्यक्ष दुर्योधन गुरुङको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । यस समितिको सदस्यहरूमा वडाध्यक्ष रोहित प्रसाईँ र कृष्णप्रसाद खरेल रहेका छन् ।
यस्तै कार्यपालिका सदस्य यमुना आचार्यको संयोजकत्वमा सामाजिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यहरूमा कार्यपालिका सदस्य तिला गौतम र निर्मला सुनार रहेका छन् । यस्तै विधेयक समितिको संयोजकमा शर्मिला राजवंशी र सदस्यहरूमा वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा,मदन बुढाथोकी रहेका छन् । यसैगरी सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा र सदस्यमा वडाध्यक्ष हरिप्रसाद चौलागाई,निर्मला सुनार चयन भएका छन् ।
बैठकले बिर्तामोडको मुक्तिचोक र दक्षिण भद्रपुर सडक खण्डको ग्रीनवेल्ट एरियाको सरसफाइ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अमानतबाट सञ्चालन गर्ने पनि निर्णय गरेको जनाइएको छ ।