बिजुलीको मिटर जडानको विषयमा बिर्तामोड नगरपालिका र वाणिज्य संघबीच चर्कियो विवाद
बिर्तामोड- ५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका ६५ जना व्यवसायीलाई बिजुलीको मिटर जडानका लागि सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले त्यसको नेतृत्व गरेका थिए । सोही विषयमा नगरपालिकाले सोमबार दिउँसो सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए ।
छलफलमा नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँले हटियामा नियम विपरीत बसेका व्यापारीलाई बिजुलीको मिटर जडानको सिफारिस दिनुभन्दा पहिले यस बारेमा वृहत् छलफल गर्नुपर्ने बताएकी थिइन् ।
मेयर प्रसाईँले त्यहाँका जग्गादाता समेत राखेर छलफल गर्ने बोल्दै गर्दा संघका अध्यक्ष प्रकाश सिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले तत्काल मिटर जडान गर्नुपर्ने अडान राख्दा दुवै पक्षबीच चर्काचर्की नै परेको थियो । सोही क्रममा हातपातको प्रयाससँगै दुर्व्यवहार भएपछि बैठक स्थगित भई नगरपालिका परिसर तनावग्रस्त बन्यो । त्यसपछि संघको अगुवाइमा नगरपालिका अगाडि विरोधसभा गरेका थिए । सभामा सहभागी व्यवसायीहरूले नगरपालिकाविरुद्ध नाराबाजी गदै धर्ना दिएका थिए ।
बैठकमा ममाथि दुर्व्यवहार भयो : मेयर प्रसाईँ
नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँले बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । आफू महिला भएकै कारण सर्वदलीय बैठकमा संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप छ । ‘जसरी ममाथि दुर्व्यवहार भयो त्यो भर्त्सनायोग्य छ,’ उनले भनिन्, ‘एउटी महिला भएका कारण उहाँहरूले हेप्ने हिसाबले बैठकमा प्रस्तुत हुनुभयो । ‘अघिल्लो कार्यकालमा पनि यस्ता विरोध हुन्थे, तर त्यो बेला पुरुष मेयर भएकोले त्यस्तो व्यवहार हुन्नथ्यो, अहिले उहाँहरूको व्यवहार ठिक लागेन,’ उनले भनिन् । बैठकमा मेयर प्रसाईँमाथि दुर्व्यवहारसँगै नेकपा (एमाले) का नगर अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास गरेको बैठकमा सहभागी प्रत्यक्षदर्शीहरू बताउँछन् ।
व्यवसायी आन्दोलित
हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् ।
व्यवयासीहरुलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीहरूको पसलबाट निस्किने फोहोर मैला निःशुल्क उठाउनु पर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा भोलि मङ्गलवार बिर्ताबजारस्थित दुर्गा मन्दिर अगाडिबाट आन्दोलन एवम् धर्ना दिन सम्पूर्ण व्यवसायीलाई आव्हान गरिएको संघका अध्यक्ष प्रकाश सिवाकोटीले जारी गरेको सूचना उल्लेख छ ।
साथै तीन घण्टा आआफ्नो व्यापार– व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी हुन पनि उनले जारी गरेको सूचनामा उल्लेख छ । मिटर जडानको विषयमा संघको अगुवाइमा हिजो आइतबार पनि बिर्तामोड नगरपालिकामा उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।