भिभिआइपी उडानमा दुईजना पाइलट अनिवार्य
नेपाल सरकारले तोकेका विशिष्ट व्यक्ति (भिभिआइपीं)को उडानमा एक जनामात्र पाइलटले चार्टर्ड उडान भर्न नपाउने भएको छ। नागरिक उड्डयन प्राधिकरणले मुलुकमा उडान सुरक्षा थप सुदृढ गर्न तथा उडान सञ्चालन थप व्यवस्थित गर्न भन्दै आइतबार भिभिआइपीको उडानमा दुईजना हेलिकप्टर पाइलट अनिवार्य गर्ने निर्णय गरेको हो।
प्राधिकरणले हेलिकप्टरको प्रत्येक उडानपूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित विद्युतीय प्रणाली पनि सञ्चालनमा ल्याउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार स्वचालित प्रणालीले तोकेअनुसार २ जना हेलिकप्टर पाइलट राख्नुपर्ने व्यवस्था विमान कम्पनीले नै गर्नुपर्नेछ।
अब हेलिकप्टर र वायुसेवाले काठमाडौं विमानस्थलमा तोकिएको संख्याभन्दा बढी जहाज पार्किङ गर्न नपाउने भएका छन्। काठमाडौंबाहिर तोकिएका आधार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णय भएको छ। यो निर्णय असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि हवाई जहाजमा कडाईका साथ लागू हुने प्राधिकरणले जनाएको छ। हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी छन्।