चन्द्रगढी खानेपानीमा एमाले र राप्रपा गठबन्धनको प्यानल निर्वाचित
भद्रपुरस्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा नेकपा एमाले र राप्रपा गठबन्धनको प्रगतिशील राष्ट्रवादी समूहको प्यानल निर्वाचित भएका छन् । समितिको शनिवार सम्पन्न निर्वाचन प्रक्रियाबाट राष्ट्रवादी समूहतर्फबाट पुरुषोत्तम अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका तर्फबाट अध्यक्षमा उठेका अधिकारीले नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समूहका उम्मेदवार गोविन्द लम्साललाई २६४ मतान्तरले पराजित गरेका हुन् । दुई हजार ४१७ मत खसेकोमा अधिकारीले १ हजार १९७ मत ल्याएकोमा लम्सालले ९३३ मत ल्याएका छन् । अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार यादवप्रसाद भट्टराईले १०१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रवादी समूहका उपाध्यक्षमा बाबुराम पराजुली निर्वाचित भएका छन् । राप्रपाबाट उठेका पराजुलीले १ हजार ३६६ मत ल्याएकोमा उनको प्रतिस्पर्धी उत्तम कोइरालाले ८७१ मत ल्याएका छन् ।
सचिवमा बाबुराम कार्की १ हजार १८०, सहसचिवमा भुमा सिवाकोटी १ हजार २६७ , कोषाध्यक्षमा खेमराज भट्टराई १ हजार ३२० मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यहरूमा क्रमशः कृष्णप्रसाद खतिवडा , मोहनकुमार श्रेष्ठ र रामकुमार गिरी निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सदस्यहरूमा सुजन विष्ट दुलाल, गङ्गा घिमिरे नेपाल र सुमित्रा न्यौपाने भट्टराई निर्वाचित भएको निर्वाचन समिति संयोजक टङ्कप्रसाद दंगालले जानकारी दिए । राष्ट्रवादी समूहबाट लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे सदस्यहरूमा कृष्णबहादुर कटुवाल र निर्मल चाम्लिङ निर्वाचित भएका छन् ।