८२ औं जन्मोत्सवमा खनालले दिए पत्रकार उपचार कोषलाई ११११११ सहयोग
बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनालले आफ्नो ८२ औं जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिवार आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रमका वीच शिक्षासेवी खनाल र उनकी श्रीमती बुध खनालले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकमको चेक प्रदान गरे ।
खनाल दम्पतीले गत फागुन २४ गते आफ्नो विवाहको ६० औं वर्षगाँठ समारोहमा पत्रकार सहारा उपचार कोषलाई उक्त सहयोगको घोषणा गरेका थिए ।
खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । खनालले ३२ वर्ष निजामती सेवामा रही अवकाशपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । पूर्वमै पहिलो पटक गोमेन्द्रमा पत्रकारिता विषयको अध्ययन अध्यापन समेत सुरु भएको थियो । खनालका तीन छोरा दीपक अस्ट्रेलिया तथा रूपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।
सहयोग हस्तान्तरण समारोहमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सुशीला सङ्ग्रौला, कार्यसमिति सदस्य स्वस्तिका आचार्य , पत्रकार सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो । त्यस्तै गणेशप्रसाद–बुध खनालका छोरा बुहारी रूपक–सरूँ खनाल, उत्तम–गीता खनाल लगायत खनाल परिवारको सहभागिता थियो ।
खनालले परोपकारी काम गरौँ भन्ने भावनाले पत्रकारको दिगो हितमा योगदान गर्न र अरूलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गरेको बताए । पत्रकारको सामाजिक सुरक्षाका लागि पत्रकार महासंघ झापाले उपचार कोषको स्थापना गरेर धेरै राम्रो काम गरेको भनी उनले प्रशंसा समेत गरे ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।कोषको ब्याजबाट पत्रकारहरू बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ६० लाख रुपैयाँ रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।