२०८३ असार ८ गते , सोमबार

भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा

झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज गाउँपालिकास्थित वडा नम्बर- ४ मा रहेको एउटा सिङ्गो बस्ती नै नदी कटानको जोखिममा परेको छ । भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सिमानाका रूपमा गेउरिया खोला रहेको छ । 

उक्त खोलाले धार परिवर्तन गर्दा नेपाल तर्फको जमिन कटान गरिरहेको स्थानीय जयराम ऋषिदेवले बताए । उनी भन्छन्, “खोलामा सामान्य तटबन्धन मात्रै गरे पनि बस्ती तर्फको कटान रोकिने थियो । तर यस विषयमा कसैले वास्तै गरेनन् ।” नदिलाई नेपाल तर्फकै भूभागबाट नियन्त्रण गरी धार परिवर्तन गराउन आफूहरूले पटक पटक आग्रह गरे पनि भारतीय पक्षले त्यहाँ अवरोध गरिरहेको उनले सुनाए। भारतीय सीमा सुरक्षा बलले त्यहाँ नदिको धार परिवर्तन गर्न नदिएपछि समस्या भइरहेको उनले भने । 

'नेपाल र भारतको सिमाना यहाँ गौरिया खोलाले छुटाएको छ । तर, त्यही गौरिया खोला हाम्रा लागि दिनको भोक र रातको निन्द्रा हजाम गराइदिने बनिरहेको छ । खोलाले कटान गरिरहेको छ । बस्ती जोखिममा छ । खोलालाई केही गरी सिधा धारमा फर्काउन सके बस्तीमा जोखिम घट्थ्यो ।' स्थानीय उर्मिला ताजपुरियाले भनिन् । 

अब बर्खा यामको समयमा त झन् यहाँका स्थानीय त्रासै त्रासमा बस्न बाध्य हुने गरेका छन् । ताजपुरिया भन्छिन्, 'हामी गरिब भएकै कारण हामीलाई कसैले हेरेन । नेताहरूले समस्या समाधान गरिदिन्छौ त भने तर अहिलेसम्म यो समस्या समाधान गर्ने हामीले कोही नेता नै पाएनौँ ।'  

यस्तै, सोही ठाउँका स्थानीयवासी राजेश ऋषिदेव भन्छन्, “कतिपल्ट त यहाँ आएको बजेट नै फ्रिज भएको छ । खोलालाई सिधा धारमा फर्काउन भारतीय पक्षले अवरोध गरे पनि यहाँ तटबन्ध गर्न त कसैले अवरोध गरेको छैन नि । तर, चुनावलाई बहाना देखाउँदै काम रोके । अहिले चुनाव पनि सकिएको यतिका समय भइसक्यो अझै केही सुरसार छैन । यस्तै अवस्था भयो भने यो बर्खा कसरी धान्नु रु”  

गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष फेका गिरिले भने यस विषयमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । उनले सो ठाउँमा भइरहेको कटानबाट बस्तीलाई जोगाउन आफू आजैबाट लागिपर्ने समेत बताए । “हामी भर्खर मात्रै निर्वाचित भएर आएका हौँ, त्यसैले एक एक समस्यालाई गम्भीर भएर आफूहरू समाधानको पाटोमा लाग्नेछौँ ।” उनले भने ।
दुई महिनामा भएका प्राकृतिक विपदमा ९३० घरपरिवारका १७० जना घाइते भएका छन् भने एक जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। यी घटनाहरूबाट ५२ करोड, ६५ लाख ६६ हजार २६० रूपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणको तथ्यांक छ।

सम्बन्धित समाचार