२०८३ असार ८ गते , सोमबार

बिर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण

sajilo news
झापा
२०७९ जेष्ठ ३१ गते , मंगलबार
बिर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । जनावरको संरक्षणका क्षेत्रमा काम गर्दै आएकी झापाको बिर्तामोड–५ की श्रद्धा पोख्रेलको पहलमा बिर्तामोडमा चार दिने सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ ।

सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरिएको पोख्रेलले बताइन् । सडकमा छाडा बस्न बाध्य कुकुरको उचित व्यवस्थापन हुन नसक्दा समुदायका व्यक्तिहरू मात्रै नभई, कुकुर पनि प्रभावित भएका छन् । कुकुरबाट मान्छे र मान्छेबाट कुकुरले सुरक्षा महसुस गर्ने वातावरण नहुँदा दुईबीचको द्वन्द्वको खतरा रहेको छ ।सामुदायिक कुकुरको उचित व्यवस्थापन होस् भन्ने उद्देश्यले पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट हार्टको चिकित्सकको टोलीलाई बिर्तामोडमा ल्याएर शिविर सञ्चालन गरेको बताइएको छ ।

आइतबारबाट सुरु भएको बन्ध्याकरण शिविरमा हालसम्म ७५ भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको पोख्रेलले जानकारी दिइन् । झापाका विभिन्न स्थानबाट ल्याएका कुकुरको बन्ध्याकरण गरेर सोही ठाउँमा लगेर छाडिने गरेको उनले जानकारी दिइन् ।

सडकमै जन्मिएका, घरबाट सडकमा ल्याएर छाडिएका लगायत कारण सडकमा आश्रित कुकुरहरूसँग दैनिक जसो मान्छेको घम्साघम्सी परिरहन्छ । सडकका कुकुरसँग मान्छे डराउने र मान्छेसँग कुकुर डराउने अवस्थाका कारण विभिन्न घटना हुने गरेका छन् । सवारी चलाउनेहरूको बेवास्ताका कारण सडकमा मारिने, घाइते हुने कुकुरप्रति कमैको ध्यान पुगेको छ । कुकुरलाई समुदायमा सहजसँग बाँच्ने परिस्थिति बनाउने मुद्दामा पनि कमैले वास्ता गरेका छन् । जनवारको संरक्षण गर्दै उनीहरूको जीवन सहज बनाउन सबै लाग्नुपर्ने पोख्रेलले बताइन् ।

सम्बन्धित समाचार