२०८३ असार १ गते , सोमबार

भद्रपुर जेसीजद्धारा संक्रमित र विपन्न परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिँदै

sajilo news
पार्थ मण्डल
२०७८ असार ८ गते , मंगलबार
भद्रपुर जेसीजद्धारा संक्रमित र विपन्न परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिँदै

भद्रपुर । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य भन्ने नाराका साथ सामाजिक संस्था भद्रपुर जेसीजले कोरोना संक्रमित र विपन्न परिवारलाई घर घरमा पुगेर स्वास्थ्य सामग्री र पोष्टिक खानेकुरा वितरण अभियान सुरु गरेको छ ।
भद्रपुर जेसीजले अभियान एक संक्रमित, एक दाता भन्दै नगर क्षेत्रभित्रका कोरोना संक्रमित र विपन्न गरी १५१ परिवारलाई स्वास्थ्य सामग्री र पोष्टिक खानेकुरा उपलब्ध गराइसकेको जनाइएको छ ।

कोरोना संक्रमित र विपन्न परिवारलाई एक हजार एक सय एघार रुपैयाँ बराबरको प्याकेज बनाएर घर घरमा पुगेर स्वास्थ्य सामग्री र पोष्टिक खानेकुरा वितरण गरिएको भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डेले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सामग्रीमा सेनिटाईजर, साबुन, मास्क, भिटामिन सी, भिटामिन डी, जिङ्क चक्की, हर्लेक्स, चवानप्रास रहेको छ । 'अहिलेसम्म दुई लाख रुपैयाँ बराबरको सामग्री गरिसकेका छौँ,' उनले भने, 'सात लाख रुपैयाँ बराबरको सामग्री वितरण गर्ने लक्ष्य छ, जसमा ६ सय परिवार रहने छ ।'

अहिलेसम्म नगर क्षेत्रभित्रका १० वटा वडामध्ये ४, ७, ९ र १० मा सामग्री वितरण गरिएको उनले बताए । नगरपालिकासँग अनुमति लिएर भद्रपुर जेसीजले नगर क्षेत्रभित्र स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको बताउँदै उनले भने, 'संक्रमित तथा विपन्नको घरमा सामग्री लिएर जाँदा उनीहरूलाई कोरोना भाइरसको जोखिम सम्बन्धी जानकारी गराउनुका साथै स्वास्थ्य अवस्था पनि बुझ्ने गरेका छौँ ।' यस अभियान हातेमालो गर्न उनले सबै समक्ष आग्रह पनि गरेका छन् । भद्रपुर जेसीजले कोभिड १९ को महामारीमा यो अभियान सुरु गरेसँगै संक्रमित र विपन्न परिवार लाभान्वित भएको जनाइएको छ । 

सम्बन्धित समाचार