२०८३ असार १ गते , सोमबार

प्रेस सङ्गठन झापाको कमिटी विस्तार, डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने 

sajilo news
पार्थ मण्डल
२०७८ असार ७ गते , सोमबार
प्रेस सङ्गठन झापाको कमिटी विस्तार, डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने 

झापा । प्रेस सङ्गठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । सङ्गठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमबार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो । बैठकले सङ्गठनको सह–संयोजकमा पार्थ मण्डल र सुस्मा कुमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोषाध्यक्षमा पुष्प खड्का तथा सदस्यमा दिलीप थापा छन् । अन्य सदस्य पछि थप गरिने सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिए ।

त्यस्तै बैठकले डी।कौडिन्य स्मृति पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । पुरस्कार राशि बढाएर २१ हजार रुपैयाँ पुर्‍याइएको छ । उक्त पुरस्कारबाट साउन ७ गते डी।कौडिन्य स्मृति दिवसका दिन एक जना पत्रकारलाई पुरस्कृत गरिने छ ।

बैठकले सङ्गठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का कोषाध्यक्ष विमल लामिछानेको संयोजकत्वमा पुरस्कार छनौट समिति निर्माण गरेको छ । समितिको सदस्यमा भुलन रेग्मी, डिकेश लामा, राजु पाठक र लीलाराज झापाली छन् ।

बैठकले सङ्गठनको तर्फबाट पत्रकार महासंघ प्रदेश र जिल्ला समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाईसहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो ।

बैठकपछि आयोजित पार्टी नेतृत्वसँगको छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा सह–इन्चार्ज धर्मशिला चापागाईँले श्रमजीवी वर्गको पक्षमा कलम चलाउन आग्रह गरिन् । कार्यक्रममा माओवादी केन्द्रका झापा सचिव मणिकुमार साम्पाङको आतिथ्य रहेको थियो ।

सम्बन्धित समाचार