२०८३ असार १ गते , सोमबार

झापा निषेधाज्ञा : ३५ सय ३३ सवारीसाधनलाई कारबाहीमा

sajilo news
पार्थ मण्डल
२०७८ असार ७ गते , सोमबार
झापा निषेधाज्ञा : ३५ सय ३३ सवारीसाधनलाई कारबाहीमा

(नरेन्द्र ढकाल) झापा । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि निषेधाज्ञा उल्लङ्घन गर्ने साढे तीन हजार सवारी कामकारबाही परेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै झापामा गत वैशाख १९ गतेबाट निषेधाज्ञा सुरु भएको थियो । प्रशासन कार्यालय असार ७ गतेसम्मका लागि पटक–पटक गरेर निषेधाज्ञा लम्ब्याएको छ ।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्दै गएपछि निषेधाज्ञा जारी गरेर नागरिकलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गर्दै आएको छ । निषेधाज्ञामा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको थियो । तर, निषेधाज्ञा उल्लङ्घन गर्ने सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईँले जानकारी दिए ।

प्रशासन कार्यालयले बनाएको मापदण्ड पालना नगर्ने सवारीलाई कारबाही गरिएको बताइएको छ । गत वैशाख ११ गतेबाट असार ५ गतेसम्ममा तीन हजार ५३३ वटा सवारी कामकारबाही परेको प्रहरी निरीक्षक चापागाईँले बताए । कामकारबाही पर्नेमा ट्रक–८६१, टिपर–१५१, बस–१०५, कार–जिप–४१७, ट्याक्टर–३०९, मोटरसाइकल–१२९४, ट्याम्पो–अटो–२९७ र अन्य–९९ बाट सवारी कामकारबाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त सवारी कारबार्हीबाट २३ लाख ८७ हजार पाँच सय रुपैंया राजश्व सङ्कलन भएको प्रहरी निरीक्षक चापागाईँले बताए । ट्राफिक प्रहरीले निषेधाज्ञाको समयमा अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गर्दै नागरिकलाई सचेत गराएको थियो । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरेर सचेत गराइएको बताइएको छ । झापाका दमक, बिर्तामोड, भद्रपुर, कांकरभिट्टा लगायतका सहरहरूमा निषेधाज्ञा उल्लङ्घन गर्ने रहेका बताइएको छ ।

ट्राफिक नियम मात्र होइन रोग विरुद्ध पनि सचेतना

कोरोना भाइरसको दोस्रो लहर देखापरेसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले मास्क नलगाई यात्रा गर्ने यात्रुहरूलाई सचेत गराउदैं मास्क वितरण ग¥र्यो ।ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने ट्राफिक प्रहरी मास्क नलगाई हिँड्ने पैदल यात्री तथा सवारीमा सवार रहेका नागरिकलाई मास्क वितरण सँगै कोरोना भाइरसबाट अपनाउनु पर्ने सावधानीका विषयमा समेत सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । उनले विभिन्न सङ्घ–संस्थासँगको सहकार्यमा सडकमै सचेतना मूलक कार्यक्रमका साथै मास्क वितरण गरिएको जानकारी दिए ।

११ महिनामा ८७ जनाले ज्यान गुमाए

झापाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ११ महिनामा ८७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७-७८को साउन १ गतेदेखि जेठ मसान्तसम्म ६९ पुरुष, १२ महिला तथा ६ जना बालबालिका गरी ८७ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरूमा भएको दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन् । अधिकांश दुर्घटनामा मोटरसाइकल रहेको बताइएको छ । तीव्र गति, चालकको लापरबाही लगायतका कारण रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार