व्यक्तिगत रकम जुटाएर राहत वितरणमा जुटे बिर्तामोडका जनप्रतिनिधि
(नरेन्द्र ढकाल) झापा । बिर्तामोड नगरपालिका ८ का जनप्रतिनिधि राहत वितरणमा जुटेका छन् । कोरोनाका दोस्रो लहर सुरु भएसँगै जारी भएको निषेधाज्ञाका कारण रोजगारीबाट वञ्चित भएका नागरिकलाई समस्या परेको भन्दै झापाको बिर्तामोड–८ का जनप्रतिनिधिले व्यक्तिगत रकम उठाएर तथा विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा विपन्न नागरिकलाई राहत वितरणमा जुटेका हुन् ।
कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा हुँदा काम गर्न नपाएका स्थानीयलाई वार्ड अध्यक्ष आफै लागेर राहत वितरण गरिएको हो । आफ्नो व्यक्तिगत रकमबाट राहत वार्डका करिब चार सय परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल वितरण गरेको वार्ड अध्यक्ष अजय कार्कीले बताए ।
नगरपालिका र वार्डको पैसाबाट विकास निर्माणका काम गर्नुपर्छ, कार्कीले भने–राहतका लागि आफू लगायत साथीभाइ र सङ्घसंस्थाको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो । आइतबार वार्ड अध्यक्ष सँगै वार्ड सदस्य, स्थानीय र सङ्घसंस्थाका प्रतिनिधिले लगायतको टोलीले प्रदेश गौरव भिलेजका ३५ परिवार सँगै आसपासका क्षेत्रमा गरेर करिब एक सय ५० परिवारलाई राहत बाँडिएको सन्तोष पाण्डेले बताए । यो पैसा हुनेले नहुनेलाई सहयोग गर्ने बेला हो, पाण्डेले भने, हामीले स्वतःस्फूर्त रुपमा यी सामाग्रीहरू किनेर वितरण गनेका छौँ ।
दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका सदस्य यति बेला कोरोना भाइरसका कारण घरमै बस्त बाध्य छन् । उनीहरूलाई राहतको खाँचो रहेको बुझेर सहयोगका लागि जुटेको कार्कीले बताए । राहत पाएपछि स्थानीय समेत खुसी भएका छन् । यसरी दुख परेका बेला सहयोग गर्ने जनप्रतिनिधि घरघरमै खानेकुरा बोकेर आउँदा उत्साहित भएको स्थानीय राजेश चौधरीले बताए ।
कार्यक्रममा छ्याङ्दी हाइड्रोपावर लमजुङ, मित्तल पलाई बिर्तामोड, सेन्टजेभियर्स स्कुल बिर्तामोड, पूर्व कर्नेल डीबी थापा, पाटन क्याम्पसका प्रमुख पशुपति न्यौपाने, स्थानीय सन्तोष पाण्डे र जन्रतिनिधीहरुले स्वतःस्फूर्त रुपमा रकम सहयोग गरेका थिए ।
वडाध्यक्षसहितका जनप्रतिनिधि राहत सामग्री लिएर पुग्दा स्थानीय खुसी देखिएका थिए । कोरोना भाइरसका कारण प्रभावित भइरहेका बेला राहत भएको भन्दै स्थानीय सन्तोष चौधरीले खुसी व्यक्त गरे । उनले राहत सामग्रीले आफ्नो परिवारलाई केही दिनलाई भए पनि राहत मिलेको बताए । राहत सामग्री पाएसँगै चौधरीले भने–राजमिस्त्रिको काम गर्छु निषेधाज्ञाले सबै काम बन्द छ ।, यो सहयोगले परिवारमा खुसी मिलेको छ ।
त्यस्तै रामदेव चौधरीले राहत सामग्रीले आफ्नो ठुलो परिवारलाई राहत मिलेको भन्दै जनप्रतिनिधिलाई धन्यवाद दिए । आफ्नो वडामा रहेका विपन्न नागरिकको पहिचान गरेर सबै जनप्रतिनिधि मिलेर तथा सहयोगी मनसँग सहयोग मागेर राहत वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले खाद्यन्नसंग स्वास्थ्यमा अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराउदैं आएको बताए । उनले आफ्नो वडा क्षेत्रमा कोरोना भाइरसको संक्रमण भएका नागरिकलाई पोसिलो खानेकुराका सागै आर्युवद् औषधि समेत वितरणको तयारी भएको जानकारी दिए । झापामा गत वैशाख १९ गतेबाट निषेधाज्ञा गरिएको हो । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।