भद्रपुरका युवालाई स्वरोजगारी दिने खालको बजेट ल्याउन युवा सङ्घको माग
भद्रपुर । राष्ट्रिय युवा सङ्घ, नेपाल नगर कमिटी भद्रपुरले स्वदेशमै युवालाई स्वरोजगारी दिने खालको बजेट ल्याउन भद्रपुर नगरपालिकालाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
युवा सङ्घ भद्रपुरले नेपाली युवालाई स्वदेशमै सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउने खालको बजेट ल्याउनु पर्ने माग राख्दै नगरपालिकालाई १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । युवा सङ्घ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेल र सचिव अर्जुन बानियाँसहितको नेतृत्वमा पुगेका टोलीले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई सो ज्ञापनपत्र बुझाएका हुन् । सो ज्ञापनपत्रको बोधार्थ नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई दिएका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, मुलुकको समग्र जनसङ्ख्याको करिब ४० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने युवाहरू दैनिक जीविकोपार्जनको लागि समेत वैदेशिक रोजगारमा जान बाध्य छन् । जोस, जाँगर र ऊर्जाले भरिपूर्ण युवा शक्ति विदेश पलायन भइरहँदा मुलुकको समग्र विकासमा निकै ठुलो प्रतिकुल असर परेको सर्वविदितै छ ।
युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न उनीहरूको योग्यता र क्षमताको आधारमा स्वदेशमै रोजगारीको सृजना गरी स्वरोजगार र आत्मनिर्भर बनाउँदै समाजको आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रूपान्तरणमा नेतृत्वदायी जिम्मेवारी वहन गर्न सक्ने असल नागरिक बनाउने दायित्व समेत राज्य संयन्त्र कै हो भन्ने हाम्रो ठहर छ । अतः युवा स्वरोजगार, युवा सहभागिता र नेतृत्व विकासको विषयलाई नारामा मात्र सीमित गरेर हैन नीति, कार्यक्रम र बजेटमा समेत समेटेर लैजानु पर्छ भन्ने तथ्यलाई मध्यनजर गर्दै यस भद्रपुर नगरपालिका अन्तर्गत रहेका सबै तह र तप्काका युवाहरूलाई लक्षित गरी निम्न बमोजिमका युवा नीति तथा कार्यक्रम आगामी आर्थिक वर्ष २०७८र७९ को नगर सभाबाट स्वीकृत गरी आवश्यक बजेट समेतको व्यवस्था मिलाइ दिनु हुन ध्यानाकर्षण गराउन चहान्छौं ।
यस्तो छ बुँदामा
१) राष्ट्रिय युवा नीति, २०७२ र यूथ भिजन, २०२५ का निर्देशक सिद्धान्त, रणनीति र योजनालाई आत्मासाथ गर्दै सो बमोजिमको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउन,
२) युवाहरूलाई स्वरोजगार बनाउनका लागि लघु उम मोडेलमा आधारित उद्यमशीलता र सीप विकास तालिमको व्यवस्था गरी व्यवसाय सञ्चालनका लागि आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने व्यवस्था मिलाउन,
३) युवाहरूलाई व्यावसायिक कृषि नगरको उत्पादन वृद्धि भन्ने नारा तय गरी व्यावसायिक गाइभैसीपालन, बङ्गुर पालन, मौरी पालन, कुखुरा पालन, तरकारी खेती लगायतका व्यवसायमा प्रस्ताव र व्यावसायिक कार्य योजनाको आधारमा सहयोग गर्ने व्यवस्था मिलाउन,
४) वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उनीहरूले वैदेशिक रोजगारको क्रममा हासिल गरेका ज्ञान, सीप र दक्षतालाई स्वदेश मै प्रयोग गरी आत्मनिर्भर बनाउन उनीहरूको प्रस्ताव बमोजिमका कार्यक्रममा सहयोग गर्ने व्यवस्था मिलाउन,
५) स्थानीय पर्यटन प्रवर्धनका लागि युवाहरूलाई होम स्टे सञ्चालन सम्बन्धी तालिम तथा होम स्टे निर्माणमा अनुदानको व्यवस्था मिलाउन,
६) कुलतमा फसेका युवाहरूलाई सकारात्मक बाटोमा फर्काउँदै, सकारात्मक सोचको विकास गर्न नगर स्तरीय एक सुधार केन्द्र स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन,
७) भ्रष्ट्राचारमा शून्य सहनशीलता कायम गरी सरोकारवाला निकायहरूलाई पारदर्शी र नागरिकहरूप्रति जबाफदेही बनाउनका लागि संविधानमा व्यवस्था भए बमोजिमको सूचनाको हक सम्बन्धी तालिमको व्यवस्था मिलाउन,
८) युवा रोजगार कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि युवा रोजगार प्रवर्धन केन्द्र स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन,
९) सूचना प्रविधिमा युवाहरूको पहुँच वृद्धि गर्नका लागि नगर स्तरीय युवा आइटी पार्क स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन,
१०) लोपोन्मुख सीप र पेसालाई प्रवर्धन गर्नका लागि युवाहरूलाई तालिम र सीप विकासको कार्यक्रम सञ्चालन गर्न,
११) विभिन्न क्षेत्रमा क्रियाशील रही सफलता प्राप्त गरेका युवाहरूलाई हौसला प्रदान गर्नका लागि युवा प्रतिभा प्रोत्साहन कोष स्थापना गर्न,
१२) विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरूबिचमा अनुभव आदानप्रदानका लागि नगर स्तरीय युवा सम्मेलन एवम् युवा महोत्सव आयोजना गर्ने व्यवस्था मिलाउन,
१३) प्राणघातक एच.आई.भी. एड्स सम्बन्धी सचेतना अभिवृद्धिका लागि किशोर र किशोरी तथा युवा सचेतना कार्यक्रम सञ्चालन गर्न,
१४) राष्ट्र निर्माणमा युवाहरूको योगदान वृद्धि गर्नका लागि नगर स्तरीय युवा स्वयंसेवक परिचालन कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न,
१५) विधार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न तथा खेलकुद क्षेत्रको विकास गर्न सामुदायिक विद्यालयहरूमा विभिन्न खेलका प्रशिक्षकहरूको व्यवस्था गर्न,
१६) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा ख्यातिप्राप्त खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गर्न ।