२०८३ जेष्ठ ३१ गते , आईतबार

दमक जेठ १ गतेदेखि पूर्ण लकडाउन, खाद्य, तरकारी र हार्डवेयर पसल पनि बन्द

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३० गते , विहीबार
दमक जेठ १ गतेदेखि पूर्ण लकडाउन, खाद्य, तरकारी र हार्डवेयर पसल पनि बन्द

झापा । दमकमा कोरोना सङ्क्रमितको ग्राफ उकालो लाग्न थालेपछि नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । आगामी जेठ १ गतेबाट लागू हुने गरी दमकमा पूर्ण लकडाउनलाई कठोरतापूर्वक पालना गराइने भएको छ ।

अब दमकमा खाद्य, तरकारी तथा हार्डवेयर पसलहरु पनि पूर्ण रुपमा बन्द रहनेछन् । दमकमा निषेधाज्ञा अवज्ञा गर्नेहरूका कारण जोखिम बढेको व्यापक गुनासो आएपछि स्थानीय सरकारले आज सरोकारवालाहरूसँग छलफल गरेको थियो । सो छलफलले कम्तीमा एक साता पूर्ण लकडाउनको पालना गराउन कठोरतापूर्वक लाग्न नगरपालिकालाई सुझाव दिएको थियो ।

सवाल नेपालसँग टेलिफोनमा नगर प्रमुख रोमनाथ ओलीले भने, “खाद्य सामाग्री पसल, तरकारी, हार्डवेयर लगायत सबै प्रकारका पसल एवं व्यवसाय बन्द राख्ने निर्णय गरेका छौँ, वित्तीय संस्थाहरू पनि हप्तामा दूई दिनमात्र खोल्न पाउनेछन् । अत्यावश्यकता तोकिए बाहेकका कुनै पनि प्रकारका सवारी साधनहरू पनि चल्न नपाउने गरी निर्णय गरेका हौँ” ।

दमकमा विगतका लकडाउन तथा अहिलेको निषेधाज्ञा खुकुलो रहेको थियो । मेयर ओलीले भने, “अण्डा र दूधका लागि भने बिहान २ घण्टा खुला राख्न पाउने तर त्यसमा पनि सावधानी अपनाउनुपर्नेछ । ”

यस अघि जिल्ला प्रशासन कार्यालय झापाले भने झापामा पूर्ण निषेधाज्ञाको घोषणा गरेको थियो तर त्यसमा विभिन्न व्यापार व्यवसाय सञ्चालनका लागि समय सीमा समेत तोकिएको थियो । तर अब दमकमा भने कुनै पनि बहानामा कसैला पनि छुट नदिइने मेयर ओलीले बताएका छन् । उनले एक साताका लागि सब्जी पसलसमेत खोल्न नदिइने भन्दै बिना काम लखरलखर हिँड्नेलाई कारबाहीको दायरामा ल्याइने समेत उल्लेख गरे ।

सम्बन्धित समाचार