२०८३ असार ११ गते , विहीबार

भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः हजारौं मानिसको मृत्यु भएको आशंका, आपतकाल घोषणा

sajilo news
बीबीसी
२०८३ असार ११ गते , विहीबार
भेनेजुएलामा दुई शक्तिशाली भूकम्पः हजारौं मानिसको मृत्यु भएको आशंका, आपतकाल घोषणा

भेनेजुएलामा आपतकालको घोषणा गरिएको छ। भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो। 

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी हुन्। सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए। राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासमा ठुलो क्षति पुगेको छ। भूकम्पका कारण काराकासका कैयौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणकाअनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको मात्र ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को दोस्रो शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।  स्थानीय समयअनुसार बेलुकी १८ः०४ बजे मोन्टाल्वान क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो, जसको गहिराइ १३.२ किलोमिटर थियो। यसैबीच अर्को धक्काको केन्द्रविन्दु युमारेभन्दा २३ किलोमिटर दक्षिण–पूर्वमा जमिनबाट १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।

सम्बन्धित समाचार