मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
लियोनेल मेसीले अस्ट्रियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि अर्जेन्टिना फिफा विश्वकपको नकआउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ।
यस खेलसँगै मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता समेत बनेका छन्। समूह जे अन्तर्गतको यस रोमान्चक खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई पराजित गरेको हो।
खेलको ३८औँ मिनेटमा थियागो अल्माडाको डमी र फाकुन्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेसीले पहिलो गोल गरेका थिए।
खेलको इन्जुरी समय (९०ं+५ मिनेट) मा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको जित सुनिश्चित गरे। अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका मेसीको विश्वकपमा कुल गोल सङ्ख्या १८ पुगेको छ। यससँगै उनले जर्मनीका मिरास्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पार्दै इतिहास रचेका हुन्।
यो उपलब्धि ऐतिहासिक दिनमा सम्भव भएको हो जुन दिन डिएगो म्याराडोनाले सन् १९८६ मा इङ्गल्याण्डविरुद्ध प्रख्यात वन्डर गोल गरेको ४०औँ वर्षगाँठ थियो। खेलको सुरुवातमा मेसीले पेनाल्टी मिस गरेका थिए भने अस्ट्रियाका डेभिड अलाबाले केही उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई रोक्ने प्रयास गरेका थिए।
अस्ट्रियाका लागि १००औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मार्सल सबिट्जरले फ्रि–किकमार्फत गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।लियोनेल मेसी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। खेलपछि प्रतिक्रिया दिँर्दै मेसीले भने, ‘म यो जितबाट निकै खुसी छु। यो निकै प्रतिष्पर्धात्मक खेल थियो। लगातार दुई जित निकाल्दै अर्को चरणमा पुग्न पाउँदा गर्वको महशुस भएको छ।’