२०८३ असार ७ गते , आईतबार

साफ यू-१७ च्याम्पियनशिपमा श्रीलंकालाई हराउँदै नेपाल विजयी

sajilo news
झापा
२०८१ आश्विन ७ गते , सोमबार
साफ यू-१७ च्याम्पियनशिपमा श्रीलंकालाई हराउँदै नेपाल विजयी

साफ यू-१७ च्याम्पियनशिप फुटबलमा नेपालले आज खेलेको खेल जितेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। 

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ३ अंक जोडेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो।  आफ्ना दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ। श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो। 

आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले १ गोल थपे। खेलको ४औँ मिनेटमा सुजनको गोलबाट नेपालले पहिलो अग्रता लिएको थियो। 

त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। 

त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए। नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ।

सम्बन्धित समाचार