२०८३ असार ७ गते , आईतबार

टर्कीलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

sajilo news
एजेन्सी
२०८१ असार ९ गते , आईतबार
टर्कीलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

लगातार दोस्रो जित निकाल्दै पोर्चुगल युरो कप को अन्तिम १६ मा प्रवेश गरेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो। २१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । नुनो मेंडेसको क्रस टर्किस डिफेन्डरलाई लागेर बक्स भित्रबाट सिल्भाको अघि पुगेपछि उनले गोल गरेका थिए।

२८औं मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो। टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेको थियो।

पोर्चुगलको तेस्रो गोल ५६औं मिनेटमा गर्‍यो। जोआओ क्यान्सेलोको थ्रु-पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए। फर्नान्डेजले सहजै गोल गर्न सफल रहे।

जित पछि समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक भएको छ। टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ। समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन्।  गएराति नै भएको अर्को खेलमा बेल्जियमले रोमानियालाई २-० ले पराजित गरेको छ।  समूह ई मा रहेका यी दुई टोलीको समान २-२ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन्।

सम्बन्धित समाचार