२०८३ असार ११ गते , विहीबार

१३ बुँदे माग राख्दै बिर्तामोड नगरपालिकालाई राप्रपाको ज्ञापनपत्र

sajilo news
झापा
२०७९ श्रावण २५ गते , बुधबार
१३ बुँदे माग राख्दै बिर्तामोड नगरपालिकालाई राप्रपाको ज्ञापनपत्र

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । नगरका जल्दाबल्दा समस्यालाई लिएर राप्रपाको बिर्तामोड नगर समितिले नगर प्रमुख पवित्रा महतारा प्रसाईँलाई ज्ञापनपत्र बुझाएको हो ।

हालै वृद्धि गरिएका मालपोत कर, एकीकृत सम्पत्ति करलगायतका करहरूको अविलम्ब समायोजन गरिनुपर्ने , प्रतिलिपि शुल्क (जन्म दर्ता,विवाह दर्ता सामाजिक सुरक्षा भत्ता कार्ड) जस्ता विषयमा निःशुल्क व्यवस्था गरिनुपर्ने , साउन १ गतेदेखि फोहोर उठ्न नसकी सहर दुर्गन्धित भएर विभिन्न रोगहरूको प्रकोपको सम्भावना बढेको अवस्थालाई मुख्य प्राथमिकतामा राख्दै चाँडोभन्दा चाँडो फोहोर हटाइनुपर्ने , फुटपाथ व्यवसायीहरूको उचित व्यवस्थापन गरिनुपर्ने , नगरमा सार्वजनिक शौचालयको तुरुन्त व्यवस्था गरिनुपर्ने ,नगर अस्पताललाई अत्यावश्यक सुविधासहित सञ्चालन गरिनुपर्ने ,कक्षा १२ सम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा प्रदान गरिनुपर्ने , संस्थागत विद्यालयले लिँदै गरेको चर्को शुल्क शीघ्र अनुगमन गरी उचित शुल्क लिने व्यवस्था गरिनुपर्ने ,सामुदायिक र संस्थागत विद्यालयले छात्रवृत्ति दिने प्रक्रिया पारदर्शी बनाइनुपर्ने ,विराट आधारभूत विद्यालयमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने ,गत वर्षको हावाहुरीले नष्ट गरेको धानबालीको किसानलाई दिने भनिएको क्षतिपूर्तिको रकम तुरुन्त दिनुपर्ने ,सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज गर्न ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई घर–घरमा पुयाउने व्यवस्था गरिनुपर्ने र नगर क्षेत्रभित्र बढेका लागूपदार्थ दुव्र्यसनीहरुलाई निरुत्साहित गर्न जनमुखी कार्यक्रम लागू गरिनुपर्ने माग गरिएको हो ।

राप्रपा क्षेत्र नं २ प्रदेश ‘क’ समिति अध्यक्ष शङ्कर रिजाल र नगर अध्यक्ष रन्जु प्याकुरेलको नेतृत्वमा नारा जुलुससहित गएको टोलीले कार्यालयमै गएर नगर प्रमुख प्रसाईँलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईँले कनकाई ८ मा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएकोमा बिर्तामोडकै मानिसहरूले गएर भड्काएपछि फोहोर मैला व्यवस्थापनमा समस्या आएको बताइन् । राप्रपाले कर समायोजनको माग उठाइरहँदा मङ्गलवार को कार्यपालिका बैठकले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि नेपाली कांग्रेसले पनि करबृद्धिको विरोधमा ज्ञापनपत्र बुझाएको थियो । नारा जुलुस बन्द गर्न लगाउने , हप्काउने , जनताका लागि प्रस्तुत गरेका मागप्रति गम्भीर नहुनेजस्ता कर्कश व्यवहार नगर प्रमुख प्रसाईँले गरेको राप्रपा अध्यक्ष प्याकुरेलले गुनासो गरेकी छन् ।

सम्बन्धित समाचार